ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागितामा पुलिस र प्रदेश १ एउटै समुहमा परेका छन् ।
सोमबारबाट सुरु हुने प्रतियोगिताको अघिल्लो दिन विभाजन गरिएको समुहमा आठौं राष्ट्रिय खेलकुदको स्वर्ण विजेता टोली पुलिस र प्रदेश एक एउटै समुहमा परेका हुन् ।
प्रतियोगितामा पुलिस र प्रदेश एक समुह एमा परेका छन् । समुह बीमा आर्मी र त्रिभुवन विश्वविद्यालय, समुह सीमा एपीएफ र प्रदेश तीन, समुह डीमा गण्डकी प्रदेश र प्रदेश २ परेका छन् ।
आईतबार एक कार्यक्रमकाबीच सांसद योगेश भट्टराई, आयोजक क्लबका अध्यक्ष दिवस लिम्बु, भलिवल संघका प्राविधिक निर्देशक गौतम लासिवा र कास्की जिल्ला भलिवल संघका अध्यक्ष याम गुरुङले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।
मौवाखोला क्लब र न्यु पाथिभरा क्लबको सह आयोजनामा सोमबार सञ्चालन हुने प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ ।
भोली (सोमबार) पहिलो दिन पुलिस र प्रदेश एक, आर्मी र त्रिभुवन विश्वविद्यालय, एपीएफ र प्रदेश तीन, गण्डकी र प्रदेश दुईबीच प्रतिस्पर्धा हुनेछ ।
नारायणी माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् । हरेक खेलको म्यान अफ दि म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।