काठमाडौं । अन्नपूर्ण होटल दरवारमार्गले विभागीय टिम एपीएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ ।
शुक्रवार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले खेलाडीलाइ सम्मान गर्दै आफु खेल प्रेमी रहेको बताएका थिए । उनले सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग गर्न आवश्यक रहेको धारणा राखे ।
उनले राष्ट्रिय खेल भलिबलको विकास विस्तारका लागि हातेमालो गर्न आफु सदैब तयार रहेको बताए ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीको सम्माननै राष्ट्र प्रतिको सम्मान हुने बताउँदै अन्नपूर्ण होटल प्रति आभार ब्यक्त गरे ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको पाँचौं केएनपी खुला महिला भलिबल प्रतियोगिताको बिजेता टिम एपीएफलाई होटलले सम्मान गरेको हो ।
नेपाली टिमकी कप्तान समेत रहेकी एपीएफकी कप्तान बिनिता बुढाथोकीले खेलाडीलाई यस प्रकारको सम्मानले उत्साहित बनाउने बताईन् ।
एपीएफकै खेलाडी रेश्मा भण्डारीले खेलाडीमा प्रोत्साहन जगाउन सम्मान कार्यक्रमले महत्व राख्ने भन्दै आफुहरुले पाएको सम्मानले उत्साहित बनाएको धारणा राखिन् ।