काठमाडौं । हङकङमा सम्पन्न १२ औं संस्करणको स्याङजा कप भलिबल अन्तर्गत महिलातर्फको उपाधि आँधिखोला स्पोर्टस क्लब स्याङजाले जितेको छ ।
हङकङको चुनमुनमा बुधबार भएको फाइनलमा आँधिखोलाले पर्वत क्लब हङकङलाई २-१ को सेटमा पराजित गर्यो ।
नेपाली राष्ट्रिय टोलीका सदस्य सरस्वती चौधरी रहेको आँधिखोलाले पर्वतलाई १९-२५,२५-२३ र २५-१३ को सेटमा पराजित गर्यो । पर्वतबाट नेपाली राष्ट्रिय टोलीका अर्का सदस्य मञ्जु गुरुङ खेलेकी थिईन् ।
सरस्वती र मञ्जु यसै प्रतियोगिताका लागि हङकङ गएका थिए ।
उपाधिसंगै आँधिखोलाले ३ हजार हङकङ डलर प्राप्त गरेको छ ।
स्याङजा जनसेवा समिति हङकङले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फको उपाधि हलेसी क्लबले हात पार्यो । हलेसीले आँधिखोला स्पोर्टस क्लबलाई २-१ को सेटमा पराजित गर्यो ।
प्रतियोगितामा पुरुष तथा महिलामा समान ६/६ टोलीले सहभागिता जनाएका थिए ।