काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ महिला भलिबल टिमकी कप्तान विनिता बुढाथोकीले महिला भलिबलमा आफ्नो क्लबलाई टक्कर दिने क्लब न्यु डायमण्ड एकेडमी मात्र रहेको बताएकी छिन् ।
राजधानीमा सम्पन्न पाँचौ संस्करणको केएनपी महिला भलिबल प्रतियोगिताको उपाधि जितेपछि बोल्दै कप्तान विनिताले एपीएफका लागि न्यु डायमण्ड मात्र कठिन प्रतिद्वन्दी रहेको बताईन् ।
‘आज पहिलो पटक आर्मी फाइनलमा हामीसँग खेलेको हो । हाम्रो प्रतिस्पर्धी भनेको न्यू डायमण्ड हो,' कप्तान विनिताले भनिन्, 'हामीलाई उनीहरुले मात्र टक्कर दिनसक्छन् ।’
लगनखेलस्थित आर्मी कर्भडहलमा भएको फाइनलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । एपीएफले आर्मीलाई २५–१४, २५–९ र २५–१५ को सेटमा हराएको थियो ।
यस्तै विनिताले आर्मीले पहिलो पटक एपीएफसंग फाइनलमा प्रतिस्पर्धा गरेको तर आर्मीले कडा चुनौती दिन नसकेको बताईन् ।
‘हाम्रो सधै प्रतिद्वन्दी भनेको डायमण्ड नै हो । पहिलो पटक हामीले फाइनलमा आर्मीसँग खेलेका हौ ।’ उनले थपिन् ।