काठमाडौँ । एक बर्ष अघि प्रशिक्षक कपिल किशोर श्रेष्ठ आर्मीको भलिबल टिम हेर्ने गरि विभागीय क्लबमा आबद्व भए । कपिलको आगमनसंगै आर्मीले राम्रो नतिजा निकाल्ने अपेक्षा गरेको थियो । तर महिला भलिबलमा आर्मीले अपेक्षाकृत नतिजा निकाल्न सकेन ।
अनुबन्धनको पहिलो बर्ष कपिल खाली हात बस्न पर्यो । २०७५ सालमा आर्मीले १२ प्रतियोगिता खेल्यो तर टिम फाईनल सम्म समेत पुग्न सकेन ।
तर कपिलले हरेस खाएनन् ।
उनले फेरी एक सिजन आर्मी हेर्ने प्रतिबद्वता जनाए ।
सिजनको सुरुवातमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा आर्मी क्लब चौथो बन्यो ।
लगत्तै आर्मी काठमाडौंमा केएनपीए महिला भलिबलमा उत्रियो ।
सिजनको दोस्रो प्रतियोगितामा कपिलको टिम फाईनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले उत्कृष्ट प्रर्दशन गर्यो र फाईनल यात्रा तय गर्यो ।
विभागीय डर्बीमा पुलिसलाई हराउँदै आर्मीले अर्को विभागीय टिम एपीएफसंग उपाधि भिडन्त पक्का गर्यो ।
आर्मीले ३–१ को सेटमा जित निकाल्न सफल भएको थियो ।
पहिलो सेट २५– २१ ले गुमाएको आर्मीले बाँकी सेट २५–१८, २८–२६ र २५–१३ ले आफ्नो पक्षमा पार्दै फाईनल यात्रा तय गरेको थियो ।
आर्मी फाईनल पुगे लगत्तै सबै भन्दा बढी खुसी कोही थिए भने उनी कपिल नै देखिए ।
‘खेलाडीले भनेको जस्तो खेले । सबै पक्ष बलियो देखियो । मुख्य डिफेन्समा कमजोरी थियो । त्यसमा समेत सुधार आयो ।’ जित लगत्तै कपिलले भने ।
‘यो मेरा लागि इतिहास पनि हो । आर्मीमा आएपछि टिम फाइनल पुग्न सकेको थिएन । पहिलो पटक मेरो नेतृत्वमा टिम फाइनल पुगेको छ । इतिहास रच्दै फाइनल जित्छौ ।’ आत्मविश्वासका साथ उनले सुनाए ।
प्रतियोगिताका आर्मीको लगनखेलस्थित कभर्डहलमा भईरहेको छ । एउटा कुरा तय छ, फाइनल खेलमा कभर्ड हल आर्मीका समर्थकले भरिनेछ । अनि एपीएफलाई दबाबमा राख्न आर्मीका समर्थकले चर्को हुटिङ सुरु गर्नेछन् ।
सोही खेल जित्दै आर्मीले इतिहास रच्ने कपिलको दाबी छ ।
‘हामी आफ्नै कभर्ड हलमा खेल्दैछौ । म विश्वस्त छु, फाइनलमा हामीलाई समर्थकको राम्रो साथ रहने छ ।’ उनले थपे ।
कपिलको मुख्य चिन्ता भनेको खेलाडीको स्थिर प्रर्दशनको हो ।
घरेलु भलिबलमा एपीएफको महिला टिमको एकछत्र राज छ । पछिल्लो समय एपीएफले निरन्तर घरेलु भलिबलमा नतिजा समेत निकालिरहेको छ ।
एपीएफका आत्मविश्वासी र अनुभवी खेलाडीका अगाडी आर्मीका खेलाडीको प्रर्दशन कस्तो रहला भन्ने चिन्ता कपिललाई छ ।
‘एपीएफ निकै राम्रो टिम हो । आत्मविश्वासी छ । सबै पक्षमा बलियो छ । कतै अन्तिम समयमा खेलाडीले क्षमता अनुसार नखेल्लान कि भन्ने लागेको छ । तर यसपटक इतिहास दोहरिने छैन ।’ उनले भने, ‘ब्लक चलेको अवस्थामा नतिजा आर्मीको पक्षमा आउनेछ ।’
फाइलन खेल भोली (मंगलबार) दिनको १ बजे हुनेछ ।