काठमाडौं । केएनपी राष्ट्रिय भलिबलको पाचौँ संस्करण आज सुरु भएको छ । शनिबार ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु भएको प्रतियोगितामा पहिलो दिन होङ्गवान्जी न्यू डायमन्ड क्लबले एक जित र एक हार ब्यहोरेको छ ।
उसले पहिलो खेलमा पश्चिमाञ्चल भलिबल क्लबलाई पराजित गर्यो भने दोस्रो खेलमा विभागीय टिम पुलिससंग पराजित हुन पुग्यो ।
उसले पहिलो खेलमा पश्चिमाञ्चल भलिबल संघलाई ३–० को सोझो सेटमा हराएकाे थियो । शनिबार बिहान भएको उद्घाटन खेलमा न्यू डायमण्न्डले पश्चिमाञ्चलमाथि २५–१४, २५–२२ र २५–१३ सेटको जित दर्ता गरेको थियो ।
दिउँसो भएको दोस्रो खेलमा न्यू डायमन्ड पराजित भयो । उसलाई पुलिसले २५–२३, १५–१७ र २५–२२ को सोझो सेटमा हरायो ।
न्यू डायमन्डकी कप्तान ललित नाथले आइतबार परिक्षाका कारण पहिलो दिनमै दुई खेल खेल्न परेको बताइन् ।
‘भोली धेरै खेलाडीको परिक्षा छ, त्यसैले आजनै दुई खेल खेलको हो ।’ उनले भनिन् ।
समुह बी को खेलमा न्यू डायमण्डको दुई खेलबाट २ अंक जोडेको छ । पुलिसको एक खेलबाट २ अंक छ ।
समुह विजेता र उपविजेता टिम प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछन् ।
यसअघि प्रतियोगिताको उद्घाटन नेकपाका सह–अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए । उद्घाटनमा अध्यक्ष दाहालले भलिबलमा आउने बजेटको बृद्धि गर्न प्रधानमन्त्री समक्ष कुरा राख्ने बताएका थिए ।
प्रतियोगिताको समुह ए मा एपीएफ, त्रिभुवन आर्मी र जाउलाखेल भलिबल टे«निङ सेन्टर रहेका छन् । यस्तै समुह बीमा नेपाल पुलिस, न्यू डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघ रहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख पाउनेछ । यस्तै उपविजेता टिमले १ लाख र तेस्रो हुने टिमले ५० हजार पाउने आयोजक शेरबहादुर स्मृति प्रतिस्ठानले जनाएको छ ।