काठमाडौं । चितवनमा जारी अन्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
रत्ननगरमा बुधबार भएको सेमिफाइनलमा आर्मीले बंगलादेशको टिटास क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । आर्मीले बंगलादेशी क्लबलाई २८-२६, २५-१९ र २७-२४ को सेटमा पाखा लगायो ।
यस्तै पुलिसले भारतको रेल्वे क्लबलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिसले रेल्वेविरुद्ध १६-२५,१५-२५,२५-१७,२५-१९ र १५-११ को सेटमा पाखा लगायो ।
पन्चरत्न युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ ।
विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार पाउने छन् ।
यस्तै व्यक्तिगत विधाको उत्कृष्ट स्पाइकर, डिफेन्स, सर्भर,ब्लकर, लिफ्टर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।