काठमाडौं । पहिलो संस्करणको एन्जल्स हार्ट अन्तर विद्यालय तथा कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा जेठमा आयोजना हुने भएको छ ।
आयोजक एन्जल्स स्पोर्ट्स एकेडमी एण्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा जेठ १५ देखि २१ गतेसम्म आयोजना हुने जनाएको छ ।
काठमाडौंको मनमैजुस्थित एकेडमीको मैदान र ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा हुने प्रतियोगितामा ८० देखि १०० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षा सम्मका खेलाडीले मात्र खेल्न पाउने छन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले खेल्न पाउने छैनन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख प्राप्त गर्दा उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यस्तै तेस्रोले २५ हजार र सान्त्वना विजेताले १५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने छन् । यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५/५ हजार पाउने प्रतियोगिता संयोजक दिलबहादुर बुढाथोकीले जानकारी गराए ।
यस्तै प्रतियोगिताको लागि नेपाल भलिबल संघले खेल सामग्री सहयोग गरेको छ । प्रतियोगिताको लागि संघले आयोजकलाई भलिबल हस्तान्तरण गरेको थियो ।