काठमाडौं । क्रोएसियामा भएको आइएसएफ वल्ड यु–१५ महिला भलिबल प्रतियोगिता खेलेर नेपाली टिम आज (आईतबार) स्वदेश फर्किएको छ ।
विश्व स्तरीय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको नेपाली टिम आज साँझ स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले स्वागत गरिन् । प्रतियोगिताको फेयर प्ले ट्रफी जितेको नेपाली टिमलाई स्वागत गर्दै उनले क्रोएसियामा प्राप्त गरेको उपलब्धीलाई भलिबल संघले सम्मान गर्ने बताईन् ।
‘महिला खेलाडीले विदेशी भुमिमा ऐतिहासि सफलता हासिल गरेको छ । खेलाडीको प्रर्दशन र सफलतालाई संघले सम्मान गर्दै जानेछ ।’ उनले भनिन् ।
प्रतियोगितामा सहभागित जनाएर खेलाडी सहित १४ सदस्यीय टोली नेपाल फर्किएको थियो ।
नेपाल फर्किए लगत्तै नेपाली टिमका मुख्य प्रशिक्षक कुमार राईले विदेशी भुमीमा उमेर समुहको महिला टिमले भब्य प्रर्दशन गरेको बताए ।
‘खेलाडीले भब्य खेले । सबैको माया पाए । राम्रो खेल्न सक्यौ भन्ने लाग्छ ।’ उनले खेलपाटीसंग भने, ‘साना, कलिला खेलाडीले गरेको प्रर्दशनले नेपाल सबैको मायाको पात्र बनेको छ ।’
नेपाली खेलाडी उचाईमा सानो भएपनि विदेशका अग्ला खेलाडीसंग उत्कृष्ट प्रर्दशन गरेको मुख्य प्रशिक्षक राईको दाबी छ ।
‘साह्रै राम्रो खेल खेल्न पाईयो । विदेशका अग्ला खेलाडीसंग नेपाली खेलाडीले नडराई खेले ।’ उनले भने, ‘आयोजकले यति राम्रो टिम यसअघि किन सहभागि नभएको भनेर प्रश्न समेत गरे ।’
नेपाल पहिलो खेलमा नेदरल्याण्डसंग २–० को सेटमा पराजित भएको थियो ।
दोस्रो खेल फ्रान्स, तेस्रो खेल बुल्गेरियासंग गुमाएको नेपालले चौथो खेलमा अजरवैजानलाई २–१ को सेटमा हराएको थियो । अन्तिम खेलमा नेपाल हंगेरीसंग पराजित भएको थियो ।
विद्यालयस्तरीय टिम न्यु डायमण्ड एकेडेमी नेपालको प्रतिनिधित्व गर्दै क्रोएसिया पुगेको हो ।