काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद विकास ऐनबाट नेपालको राष्ट्रिय खेल भलिबललाई हटाएको भन्दै पूर्व खेलकुद मन्त्री दलजित श्रीपालीको ध्यानकर्षण गराएको छ ।
संघले खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको परिच्छेद ८ को दफा २९ मा राष्ट्रिय खेल भलिबलको व्यवस्था नभएको भन्दै त्यसलाई कायम गरिदिन पूर्व खेलकुदमन्त्रीको ध्यानकर्षण गराएको हो ।
संघीय संसदको राष्ट्रिय सभामा पेश गरिएको खेलकुद विकास ऐन राष्ट्रिय खेलको बिषयमा मौन भएपछि भलिबल संघले गम्भिर ध्यानकर्षण गराउँदै आएको छ ।
संघले यसअघि संसदीय समिति र विभिन्न सरोकारवाला निकायका प्रमुखसंग भेट गरेर विधेयकमा राष्ट्रिय खेलको रुपमा भलिबललाई समावेश गरिदिन आग्रह गरेको थियो ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दको ध्यानकर्षण पत्र बुझ्दै पूर्व खेलकुद मन्त्री श्रीपालीले नेपालको राष्ट्रिय खेल भलिबलनै भएको उल्लेख गर्दै ऐन जस्तो महत्वपुर्ण दस्ताबेजमा भलिबललाई समावेश गर्नुपर्ने बताए ।
श्रीपालीकै कार्यकालमा मन्त्रीपरिषदले नेपालको राष्ट्रिय खेल भलिबल हुने निर्णय गरेको थियो ।
आफ्नो कार्यकालमा नीतिगत परिवर्तन अन्तर्गत खेलकुद ऐन र खेलकुद नीति परिमार्जन गर्नुका साथै १५ बर्षे खेलकुदको गुरु योजना तयार पारेको बताउँदै उनले त्यसलाई सार्वजनीक नगर्नु खेल क्षेत्रकै ठुलो षड्यन्त्र भएको उल्लेख गरे ।
उनले खेल क्षेत्रमा गरिएको नीतिगत परिमार्जन, भौतिक पुर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनको निर्णयलाई तत्काल लागु गर्नुपर्ने बताए ।
खेलकुद क्षेत्र देश विकास गर्ने महत्वपुर्ण क्षेत्र भएको उल्लेख गर्दै उनले यसलाई व्यापार गर्ने थलो नबनाउन आग्रह गरे ।
‘तपाईहरुको चिन्ता स्वभाविक छ । गल्ती गरेको बिषयलाई सच्चाउने जिम्मेवारी समेत नेतृत्वलाई जान्छ । नेपालको राष्ट्रिय खेल भलिबलनै हो ।’ श्रीपालीले भने, ‘कसैको निहित स्वार्थ बोकेर भलिबलको विकल्प खोज्ने दुस्साहास नगर्दा हुन्छ ।’