काठमाडौं । विभागीय टिम एपीएफ क्लबकी ब्याक स्पाइकर रेश्मा भण्डारी सातौं संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।
हल्चोकमा शुक्रबार सम्पन प्रतियोगितामा आयोजक एपीएफलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी रेश्मा सर्वोकृष्ट चुनिएकी हुन् । प्रतियोगिताको सर्वोकृष्ट चुनिएसंगै रेश्माले महिन्द्रा कम्पनीको स्कुटर प्राप्त गरेकी छिन् ।
यस्तै प्रतियोगिताको व्यक्तिगत विधामा एपीएफको खेलाडीले वर्चश्व कायम गर्यो । उत्कृष्ट स्पाइकर एपीएफकी नेबिका चौधरी, उत्कृष्ट सर्भर उपविजेता टोली न्यु डाईमण्डकी प्रतिभा माली, उत्कृष्ट सेटर एपीएफकि विनिता बुढाथोकी, उत्कृष्ट ब्लकर एपीएफकी सरस्वती चौधरी बनिन् ।
यस्तै उत्कृष्ट डिफेन्डर एपीएफकी मनिषा तामाङ, उदयमान खेलाडी एपीएफकी पुजा चौधरी र उत्कृष्ट प्रशिक्षक ज्ञानेन्द्र बिष्ट चुनिए ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही ५/५ हजार पाएका छन् ।
एपीएफको कोर्टमा शुक्रबार भएको फाइनलमा न्यु डाईमण्डलाई २५–१२, २५–११ र २५–११ को सेटमा हराएर एपीएफले उपाधि जितेको थियो ।