काठमाडौं । आयोजक तथा सशत्र प्रहरीको एपीएफ क्लब र न्यु डाईमण्ड एकेडेमी राजधानीमा सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हल्चोकस्थित एपीएफको कोर्टमा बुधबार एपीएफले ढोरपाटन ट्रेनिङ सेन्टरलाई २५–१, २५–१० र २५–२ को सोझो सेटमा हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।
यो जित एपीएफले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।
यस्तै न्यु डाईमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५ र २५–७ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान बनायो ।
न्यु डाईमण्डले पनि लगातार दोस्रो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा न्यु डाईमण्डले नेपाल पुलिसलाई हराएको थियो ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले २ लाख ५० हजार नगद पाउँदा उपविजेताले १ लाख २५ हजार प्राप्त गर्ने छन् । यस्तै तेस्रोले ५० हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार पाउने छन् ।