काठमाडौं । क्रोएसियामा आयोजना हुने वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली भलिबल टोलीको विदाई गरिएको छ ।
इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) को आयोजनामा शनिबार सुरु हुने च्याम्पियनसिपमा नेपालबाट न्यु डायमन्ड एकेडेमीले प्रतिस्पर्धा गर्ने छन् ।
सन् १९७२ बाट सुरु भएको च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
नेपाल स्कुल स्पोर्टस् फेडेरेसनसंगको सहकार्यमा नेपालले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो ।च्याम्पियनसिप मार्च ३१ बाट अप्रील ४ सम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपमा १३ देखि १५ बर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा नेपालसहित, चीन, चाईनिज ताइपे, क्रोएसिया, बुल्गेरिया, इस्टोनिया, चिली,फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेदरल्यान्डको दुई, स्पेन र युक्रेनले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा सहभागिता जनाउन जाने ९ खेलाडीसहित १५ सदस्सीय नेपाली टोलीलाई नेपाल स्कुल स्पोर्टस् फेडेरेसनले बुधबार विदाई गरेको छ ।
नेपाली टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष विनोद श्रेष्ठ लगायतले विदाई गरे ।
नेपाली टोली शुक्रबार क्रोएसिया प्रस्थान गर्ने छन् ।
च्याम्पियनसिपका लागि नेपाल स्कुल स्पोर्टस् फेडेरेसन अध्यक्ष राजकुमार कार्की, स्कुलका डिरेक्टर मोहन कुमार कार्की, रेफ्री चन्द्र बन्दना राई, स्कुल शिक्षक सुनकेशरी माली र प्रदिप जोशी पनि क्रोएसिया जाने छन् ।
नेपाली टोली :
सोनी थपलिया
करिना सुनुवार
सबिना तामाङ
दिया परियार
जोया गुरुङ
सजिना श्रेष्ठ
रिया कुँवर
प्रेक्षा राई
सुनिता खड्का
कुमार राई - प्रशिक्षक