काठमाडौं । नेपाली भलिबलमा चर्चित स्कुल न्यु डायमन्ड एकेडेमीले क्रोएसियामा आयोजना हुने वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
नेपाल स्कुल स्पोर्टस् फेडेरेसनसंगको सहकार्यमा एकेडेमीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको एकेडमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले खेलपाटीलाई जानकारी गराए ।
'मार्च अन्तिम साताबाट आयोजना हुने च्याम्पियनसिपमा एकेडमीले पहिलो पटक सहभागिता जनाउने पक्का भएको छ,' प्रशिक्षक राईले भने, 'हामीलाई नेपाल स्कुल स्पोर्टस् फेडेरेसनबाट सहभागिताको लागि प्रस्ताव आएको थियो । हामीले स्कुल टिममा प्रतिस्पर्धा गर्ने छौं ।'
सन् १९७२ बाट सुरु भएको च्याम्पियनसिपमा नेपालबाट एकेडमीले पहिलो पटक सहभागिता जनाउन लागेको प्रशिक्षक राईले बताए ।
इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) को आयोजनामा हुने च्याम्पियनसिप मार्च ३१ बाट अप्रील ४ सम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपमा १३ देखि १५ बर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एकेडमीले गर्ल्सको स्कुल टिममा प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने एकेडमीका प्रशिक्षक राईले जानकारी गराए । उनले एसियाबाट नेपालसहित चीन र चाईनिज ताइपेले प्रतिस्पर्धा गर्ने बताए ।
च्याम्पियनसिपमा नेपाल, चीन, चाईनिज ताइपे, क्रोएसिया, बुल्गेरिया, इस्टोनिया, चिली,फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेदरल्यान्डको दुई, स्पेन र युक्रेन रहेका छन् ।
च्याम्पियनसिपका लागि लाग्ने खर्च एकेडमीले व्यहोर्ने समेत प्रशिक्षक राईले बताए । यस्तै राईले च्याम्पियनसिप खेल्ने एकेडमीको टिम छनोट गरिसकेको जानकारी गराए ।