धनगढी । आयोजक सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कास्य सहित ७ पदक जित्दै सुदुरपश्चिमले उपाधि जितेको हो ।
प्रतियोगितामा प्रदेश नम्बर १ दोस्रो भएको छ । १ स्वर्ण, २ रजत र ३ कास्यसहित प्रदेश १ ले ६ पदक पायो । प्रदेश नम्बर ५ १ स्वर्ण, २ रजत जित्दै तेस्रो भयो ।
टिम च्याम्पियन बनेसंगै सुदुरपश्चिमले नगद १५ लाख, दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण, १ रजत पदक सहित संयुक्त रुपमा चौथो भए । गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो ।
पुरुष फुटबलमा प्रदेश नम्बर १ लाई ३–१ ले हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो । प्रदेश १ ले रजत पाउँदा प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै कास्य पदक पायो ।
महिला क्रिकेटमा पनि प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो । प्रदेश १ ले कास्य पाउँदा प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो । पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो । गण्डकीले रजत पाउँदा प्रदेश १ ले सुदुरपश्चिमलाई हराउँदै कास्य पदक प्राप्त गर्यो ।
महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्दा गण्डकी प्रदेशले रजत पायो । प्रदेश ५ ले कास्य पदक पायो । पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्यो । गण्डकी प्रदेशले रजत पाउँदा प्रदेश १ तेस्रो भयो ।
ब्याटमिन्टन तर्फ यु–१७ र यु–१९ का महिला पुरुषका ईभेन्ट भएपनि पदक तालिकामा यु–१९ को मात्रै राख्ने सहमति भएकोमा यु–१९ पुरुष तर्फ सुदुरपश्चिमका देवराज रानाले स्वर्ण जिते । प्रदेश १ का प्रनिस ठकुरीले रजत तथा सुदुरपश्चिम प्रदेशका अमृत चौधरी र योगेश खड्काले कास्य पदक पाए ।
यु–१९ महिला तर्फ प्रदेश १ की निता लम्साले स्वर्ण सुदुरपश्चिमकी निलिमा महराले रजत तथा सुदुरपश्चिमकी विष्ण विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले कास्य पदक जितिन् । यु–१७ पुरुष तर्फ जेवी सावँद प्रथम रोशन सावद तेस्रो तथा प्रदेश १ पेम्बा शेर्पा र सुपका प्रियान्सु खत्री तेस्रो भए ।
यु–१७ महिला तर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, प्रदेश १ कै अन्जना राई दोस्रो तथा प्रदेश ५ की कृष्णा बज्राचार्य र सुपकी एलिसा तिरुवा तेस्रो भईन् ।
सुदुरपश्चिम सरकारको आयोजनामा भएको प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे ६ सय खेलाडीको सहभागिता रहेको थियो ।