काठमाडौं । चीनको वान वेल्ट वान रोडको अवधारणालाई सहयोग गर्ने उद्देश्यले नयाँ बर्षको अवसरमा एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोग, एमकेडब्लु चीनको समन्वयन र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा बैशाख २८ गते एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने भएको हो ।
नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले शुक्रबार पत्रकार सम्मेलनमा वीआरआईको माध्यमबाट समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान हुने भएको र यसबाट नेपाललाई समेत लाभ हुने भएकाले यो च्याम्पियनसिप नेपालमा आयोजना गरिएको बताइन् ।
त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागिता हुनेछ । प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोप एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।
यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको र राखेपले पनि सहयोग गरेको थापाले बताइन् । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।