काठमाडौं । होलीको अवसरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत पहिलो साता नुवाकोटमा आयोजना हुने भएको छ ।
आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत ६ गतेदेखि ९ गतेसम्म हुनेछ ।
बालकुमारी नुवाकोटको कल्याण माध्यमिक विद्यालयको कोर्टमा हुने प्रतियोगितामा सहभागी टोलीको भने टुंगो लागेको छैन् । आयोजकले टिम दर्ताको लागि चैत ५ गतेसम्मको मिति तय गरेको छ । दर्ता शुल्क ५ हजार रुपैया रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कार पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, डिफेन्डर र सर्भरले समान ३/३ हजार पाउनेछन् ।
प्रतियोगितामा सहभागी खेलाडीहरुलाई खाना र बासको व्यवस्था आयोजकले गर्ने दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले जनाएको छ ।