काठमाडौं । पाँचौ संस्करणको केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाख दोस्रो साता आयोजना हुने भएको छ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म संचालन हुने जनाएको छ ।
जापानको नम्बर एक पेन्ट कम्पनि केएनपी जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस संस्करणमा साविकको विजेता एपीएफ, होङवान्जी न्यु डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी, नेपाल पुलिस, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
यस संस्करणमा प्रतियोगिताको पुरस्कार राशी बढाईएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी गराए । यस पटकको विजेताले २ लाख पाउने छन् । गत साल १ लाख ५० हजार पाएका थिए । यस्तै उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५/१५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्।
प्रतियोगिताको खेल स्थल भने पछि तय गरिने प्रतिष्ठानका अध्यक्ष खड्काले जानकारी गराए ।
यस्तै प्रतियोगिताको लागि केएनपी जापानले आयोजकसंग प्रायोजन सम्झौतामा नवीकरण गरेको छ । गत संस्करणमा पनि केएनपी जापानले प्रतियोगितालाई प्रायोजन गरेको थियो ।
शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालीका नेपाल प्रमुख मनोजकुमार मिश्रले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताको रकम खुलाईएको छैन । सम्झौतासंगै प्रतियोगिता पाँचौ केएनपी जापान राष्ट्रिय महिला भलिबलको नामले हुनेछ ।