काठमाडौं । मल्पीले आठौं एस कप अन्तर 'ए' लेभल ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । मल्पी लगातार पाँचौपटक च्याम्पियन बनेको हो ।
चौथो संस्करणदेखि च्याम्पियन बन्दै आएको मल्पी बाँकीका तीन संस्करणमा भने सेमिफाइनलसम्म पुगेको राष्ट्रिय बास्केटबल खेलाडी एवं मल्पीका प्रशिक्षक रोविन खत्रीले जानकारी गराए ।
बिहिबार भएको फाइनलमा मल्पीले आयोजक एसलाई ७५–२६ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । मल्पीका आयुश लामाले १४ अंक जोडे । चारै क्वाटरमा अग्रता लिएको मल्पीले पहिलोमा २५–८, दोश्रोमा ११–७, तेश्रोमा १६–५ र चौथोमा २३–६ स्कोर गर्यो ।
मल्पीका आयुश लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ९७ स्कोर गरेका एसका तेन्जिङ जिग्मे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई एसकी प्रोग्राम म्यानेजर मिलिना ताम्राकारले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । आइतबारदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।