बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए
-1765762168961.webp&w=3840&q=75)
काठमाडौं। ह्यारी केनले बुन्डेसलिगाको अन्तिम स्थानमा रहेको टोलीविरुद्ध घरेलु मैदानमा लज्जास्पद हारबाट बायर्न म्युनिखलाई जोगाएका छन्।
आइतबार भएको खेलमा इंग्ल्यान्डका कप्तान केनले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई माइन्जसँग २–२ को बराबरी दिलाए। बायर्न यस सिजन लिगको स्पष्ट अग्रणी टोली हो। यो टोलीले अहिलेसम्म एक पनि खेल हारेको छैन।
माइन्जले नयाँ प्रशिक्षक उर्स फिसरको नेतृत्वमा पहिलो बुन्डेसलिगा खेल खेलेको थियो। युनियन बर्लिनसँग उल्लेखनीय सफलता पाएपछि फिसर पुनः बुन्डेसलिगामा फर्किएका हुन्।
माइन्जको कमजोर सुरुआतपछि गत साता बो हेन्क्रिक्सनको स्थानमा उनलाई नियुक्त गरेको थियो। खेलको सुरुआतदेखि नै बायर्न हाबी रह्यो। २९औं मिनेटमा टोलीका नयाँ उदाउँदा स्टार लेनार्ट कार्लले गोल गर्दै अग्रता दिलाए। उनले सर्ज ग्नाब्रीको क्रसमा सहज ‘ट्याप–इन’ गरेका थिए।
यो बायर्नको सिजनको ५०औं बुन्डेसलिगा गोल हो। जुन लिगका १४ राउन्डमै बनेको कीर्तिमान हो। तर, बायर्नले आफ्नो दबदबा थप गोलमा बदल्न सकेन।
पहिलो हाफ समाप्त हुनुअघि नै डिफेन्डर कास्पर पोटुल्स्कीले बराबरी गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारे। १८ वर्षीय पोलिस युवा अन्तर्राष्ट्रिय खेलाडी पोटुल्स्कीको यो दोस्रो बुन्डेसलिगा खेलमै पहिलो गोल थियो।
६७औं मिनेटमा स्टेफान बेलको लामो क्रसमा ली जे–सुङले हेडरमार्फत गोल गरेपछि पाहुना टोलीका समर्थकहरू उत्साहित भए। माइन्जले २–१ को अग्रता लिँदा बायर्नमाथि दबाब बढ्यो। तर, खेल सकिन अझै समय बाँकी थियो।
बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले अफ्रिका कप अफ नेसन्स (डिसेम्बर २१ देखि मोरोक्कोमा हुने) अघि आफ्नो अन्तिम खेलका रूपमा सेनेगलका फरवार्ड निकोलस ज्याक्सनलाई मैदानमा उतारे।
क्यानडाका अल्फोन्सो डेभिस पनि गम्भीर घुँडाको चोटबाट निको भएर ९ महिनापछि आफ्नो पहिलो लिग खेल खेले। खेलको अन्त्यतिर पोटुल्स्कीले केनलाई समातेपछि रेफ्रीले पेनाल्टीको निर्णय दिए।
केनले त्यस अवसरलाई सदुपयोग गर्दै सिजनको आफ्नो १७औं लिग गोल पूरा गरे। योसँगै उनी बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता बनेका छन्। स्टपेज समयका सात मिनेट माइन्जले बराबरी नतिजा जोगाउँदै राख्यो, जुन उनीहरूका लागि जितजस्तै अनुभूति थियो।
यस बराबरीपछि पनि बायर्न दोस्रो स्थानमा रहेको लाइपजिगभन्दा ९ अंकले अगाडि छ। लाइपजिग शुक्रबार युनियन बर्लिनसँग पराजित भएको थियो।







-1765760805345.webp&w=3840&q=75)



