मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप
-1765077380744.webp&w=3840&q=75)
काठमाडौं। लिओनल मेसी पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाडेर इन्टर मियामीमा आएपछि क्लबलाई नयाँ उचाइमा पुर्याउने ठूलो अपेक्षा गरिएको थियो।
मेसी आएअघि अमेरिकन मेजर सकर लिग (एमएलएस)को कमजोर टोलीका रूपमा चिनिने मियामीले पहिलो सिजनमै लिग्स कप जितेर इतिहास रच्यो। २०२४ मा सपोर्टर्स शिल्ड जिते पनि एमएलएस कप नजितेको खिन्नता भने बाँकी थियो।
अन्ततः त्यो अपूरो सपना यसपटक सार्थक भयो। अर्जेन्टिनी जादुगर मेसीले मियामीलाई क्लब इतिहासमै पहिलोपटक एमएलएस कप जिताए। यही उपाधि सर्जियो बुस्केट्सका लागि करिअरको अन्तिम र सबैभन्दा ठूलो बिदाइ उपहार बनेको छ।
चेज स्टेडियममा आइतबार भएको एमएलएस कप फाइनलमा मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो। फाइनलमा गोल नगरे पनि दुई गोलमा असिस्ट दिएर मेसी खेलमा नायक बने।
खेलको आठौं मिनेटमै मियामीले अग्रता लिएको थियो। मेसी र रोड्रिगो डी पलबीच टचलाइनमा भएको पास आदान–प्रदानपछि ताडेओ आलेन्देको क्रस क्लियर गर्न खोज्दा भ्यानकुभरका रक्षक एडियर ओक्याम्पोको खुट्टामा लागेर बल जालीमा ठोक्कियो। मियामीले आत्मघाती गोलबाट लिएको सुरुआत ६० मिनेटसम्म जोगायो।
६०औं मिनेटमा क्यानडाका स्टार अली अहमदले शक्तिशाली प्रहार गर्दै खेल बराबरीमा ल्याए। तर, मेसीले निराश पारेनन्। ७१औं मिनेटमा बीच मैदानमै विपक्षीको गल्ती क्यापिटलाइज गर्दै उनले अर्जेन्टिनी सहखेलाडी तथा २०२२ विश्वकप विजेता डी पललाई पास दिँदै महत्त्वपूर्ण गोल गराए।
इन्जुरी टाइमको ९६औं मिनेटमा मेसीले आलेन्देलाई सुन्दर थ्रु-पास दिए। आलेन्देले गोल गर्दै मियामीको जित पक्का गरिदिए। यो खेल बार्सिलोनाका महान् मिडफिल्डर सर्जियो बुस्केट्सको व्यवसायिक फुटबल करिअरको अन्तिम खेल थियो।
२०१० को विश्वकप विजेता स्पानिस स्टारले हातमा ट्रफी उठाउँदै आफ्नो समृद्ध करिअरलाई बिदाइ दिए। ३० वर्षे एमएलएस इतिहासमा उपाधि जित्ने मियामी १६औं क्लब बन्यो।













-1765118145135.jpg&w=3840&q=75)


