विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) बुधबार फेरि एक निर्णायक मोडमा प्रवेश गर्दैछ।
बुधबार अपरान्ह्र ४ बजे हुने एक मात्र खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दैछन्। यो खेलले प्लेअफ समीकरणलाई नै प्रभावित पार्नेछ। तर, यो भिडन्तको असली कथा अंक तालिका मात्र होइन, दुवै कप्तानको नेतृत्व परीक्षण पनि बन्नेछ।
एकातिर सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर स्थिर लयमा छ। पाँच खेलमा आठ अंक जोडेको टोलीले जीत–हारको उतारचढावबीच पनि कम्तीमा खेलको नियन्त्रण कायम राख्ने क्षमता देखाएको छ।
विराटनगरका लागि यो खेल शीर्ष स्थानको दौडमा पकड झनै बलियो बनाउने अवसर हो। टोली हाल ८ अंकसहित तेस्रो स्थानमा छ। समान अंक रहेको काठमान्डु गोर्खाज दोस्रो स्थानमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भने १० अंकसहित प्लेअफमा पुगिसकेको छ।
यो खेलमा विराटनगरले जित हात पारे एक खेलअगाबै प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ। उता, रोहितकुमार पौडेलको लुम्बिनी लायन्स भने एकदमै भिन्न मनोवैज्ञानिक अवस्थासहित मैदानमा उत्रनेछ। ५ खेलमा २ मात्रै जितेका कारण लुम्बिनीका खेलाडीहरू जित्नै पर्ने दबाबमा छन्।
यही दबाबले यो खेललाई सामान्य लिग म्याचभन्दा फरक बनाएको छ। विराटनगरसँग पराजित भए लुम्बिनीको प्लेअफ ढोका बन्द हुनेछ।
यसकारण विराटनगर र लुम्बिनीबीचको यो भिडन्त दुवै टोलीको क्यारेक्टर टेस्टजस्तै बनेको छ। एकले आफ्नो स्थिरता प्रमाणित गर्नुपर्नेछ भने अर्काले पुनरागमनको नतिजा निकालेर देखाउनुपर्नेछ।










-1764668485959.png&w=3840&q=75)