२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

काठमाडौं। एस्टोनियालाई घरेलु मैदानमा ४–१ ले पराजित गर्दै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नजिक पुगेको छ।
एर्लिङ हाल्यान्ड र एलेक्जान्डर सोरलथले दुवैले दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
खेलको पहिलो हाफमा एस्टोनियाले नर्वेको आक्रमणको गति रोक्यो। अस्कर बोब्बले हाफ टाइमअघि उत्कृष्ट अवसर पाएका थिए, तर बल पोस्टमा ठोक्किएर गोल हुन सकेन।
नर्वेका समर्थकहरूले हाफ टाइममा निराशा व्यक्त गर्दै चर्को हूटिङ गरेका थिए। दोस्रो हाफको सुरुआको पाँच मिनेटमै खेल उल्टियो।
सान्डर बर्गेको क्रसमा सोरलथले हेडर गोल गर्दै १–० को अग्रता दिलाए। दुई मिनेटपछि सोरलथले दोस्रो हेडरमा गोल गर्दै २–० बनायो।
५६औं मिनेटमा हाल्यान्डले अर्को हेडर गोल थपे र ३–० बनायो। ६२औं मिनेटमा हाल्यान्डले आफ्नो दोस्रो गोल गर्दै स्कोर ४–० पुर्याए। दुई मिनेटपछि रोबी सर्माले एस्टोनियाका लागि एक गोल फर्काए खेल ४–१ मा सकियो।
१४ मिनेटमा पाँच गोल भएपछि खेलको गति घट्यो र नर्वेका समर्थकहरूले उत्सव मनाउन थाले। खेल सकिँदा स्टेडियम रातो, सेतो र नीलो कन्फेटीले भरियो। यस जितसँगै नर्वे करिब २८ वर्षपछि विश्वकपको ढोकानजिक पुगेको छ।












