विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

काठमाडौं। डेनमार्कले आइतबार घरेलु मैदानमा ग्रीसलाई ३–१ ले पराजित गर्दै विश्वकप छनोटमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
यो जितसँगै ग्रीसको आगामी वर्ष हुने विश्वकपमा पुग्ने आशा समाप्त भएको छ। तर, समूह ‘सी’ को शीर्ष स्थानका लागि प्रतिस्पर्धा अन्तिम खेलसम्म जाने भएको छ।
अझै दुई खेल बाँकी छँदा डेनमार्क १० अंकसहित शीर्षस्थानमा छ। तर, गोल अन्तरका आधारमा स्कटल्यान्डभन्दा अघि छ। दुवै टोलीबीचको अन्तिम भिडन्त आगामी महिना हुनेछ, जसमा समूह विजेताले सिधै विश्वकपमा प्रवेश पाउनेछ भने दोस्रो स्थानमा रहने टोली प्लेअफमा जानेछ।
हाल डेनमार्क र स्कटल्यान्ड दुबै टोलीले कम्तीमा प्लेअफ स्थान सुनिश्चित गरिसकेका छन्। तर, ग्रीस तीन अंकसहित तेस्रो स्थानमा रहँदा अब विश्वकपमा पुग्ने सम्भावना गुमाइसकेको छ।
डेनमार्कका मिडफिल्डर मोर्टन ह्युलम्यान्डले भने,‘आज हामीले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्न सकेनौं। तर, मुख्य कुरा तीन अंक हो। कहिलेकाहीँ स्तरमा पुगिँदैन, तर हामीले बलियो टोलीविरुद्ध ३–१ को जित निकाल्यौं।’
खेलको सुरुआतमा ग्रीसले बल नियन्त्रणमा राखे पनि २१औं मिनेटमा क्रिस्टोस जाफेरिसको गल्तीबाट डेनमार्कले अग्रता लियो। जाफेरिसले गोलकिपरलाई छोटो ब्याकपास गर्न खोज्दा रास्मुस होयलुन्डले मौका लिएर सजिलै गोल गरे।
४०औं मिनेटमा मिकेल ड्याम्सगार्डको कर्नरमा जोआखिम एन्डरसनले हेडिङमार्फत दोस्रो गोल गरे। त्यसको एक मिनेटमै ग्रीसको अर्को डिफेन्सिभ त्रुटीको फाइदा उठाउँदै ड्याम्सगार्डले नै तेस्रो गोल थपे।
दोस्रो हाफमा डेनमार्कले गति घटाएपछि ६३औं मिनेटमा ग्रीसका क्रिस्टोस ट्जोलिसले काउन्टर–अट्याकमा शक्तिशाली प्रहार गर्दै गोल फर्काए। डेनमार्कले यो छनोटमा खाएको पहिलो गोल हो।
तर, बाँकी समयमा ग्रीसले थप गोल गर्न सकेन। डेनमार्कका गोलकिपर कास्पर स्माइकेलले उत्कृष्ट बचाउ गरे र एन्डरसनले एक अवसरमा बल गोललाइनबाट क्लियर गर्दै जित सुरक्षित गरे।