गाभीलाई चोट

काठमाडौं। व्यस्त खेल तालिकाको ठीक अघि बार्सिलोनाले फेरि ठूलो धक्का लागेको छ।
गत सातासम्म चोटका कारण कम्तीमा तीन साताका लागि बाहिरिएका फेर्मिन लोपेजपछि स्पेनिस मिडफिल्डर पाब्लो गाभी पनि लामो समयका लागि मैदान बाहिर रहने भएका हुन्।
घुँडाको चोटले ग्रस्त गाभीको शल्यक्रिया गर्ने निर्णय बार्सिलोनाले गरेको छ। क्लबले उनको पुनर्वास समयावधि सार्वजनिक नगरे पनि स्पेनिस सञ्चारमाध्यमका अनुसार २१ वर्षीय यी मिडफिल्डर कम्तीमा ४ देखि ५ महिना मैदानबाहिर रहनेछन्।
चालु सिजनमा गाभीले लिगका दुई खेल मात्र खेलेका छन्। गत अगस्टमा प्रशिक्षण सत्रकै क्रममा उनले घुँडामा चोट बोकेका थिए। त्यसयता मैदान बाहिर छन्।
यो बार्सिलोनाका समर्थकहरूका लागि नयाँ खबर होइन। यसअघि पनि उनले दायाँ खुट्टाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिँदा करिब ११ महिना मैदान बाहिर बस्नुपरेको थियो। त्यसबेला उनले २०२३–२४ सिजन गुमाएका थिए।
फिट भएर फर्किएपछि भने उनले गत सिजन ला लिगामा २६ खेल खेले। उनले एक गोल र एक असिस्ट गरे पनि आँकडाभन्दा बढी उनको योगदान मध्यान्तरमा गरेको अथक प्रदर्शनमा देखिएको थियो, जसले बार्सिलोनालाई उपाधि पुनः जित्न ठूलो मद्दत पुर्यायो।
स्पेनको राष्ट्रिय टोलीले सेप्टेम्बरमा बुल्गेरिया र टर्कीसँगको विश्वकप छनोट खेलका लागि गाभीलाई टोलीमा राखेको थियो। तर, चोटका कारण उनी प्रशिक्षणमै सहभागी हुन सकेनन्। अहिले अक्टोबरमा हुने जर्जिया र बुल्गेरियाविरुद्धका खेलमा समेत उनको सहभागिता नहुने पक्का भएको छ।