लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !

काठमाडौं। लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षसमेत रहेका लामाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई फिफा फर स्कुल कार्यक्रमको उद्घाटनमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएका हुन्। उनी नेकपा एमालेनिकट हुन्।
ओलीलाई भेट्न एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई पनि बालुवाटार पुगेका थिए। यी तीन जनाले नै प्रधानमन्त्री ओलीसँग तस्बिर खिचाएका थिए।
तर, ओलीसँग नेम्वाङ र राईले मात्रै खिचाएको तस्बिर एन्फाले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको थियो। लामाले भने ओलीसँगको तस्बिर आफ्नै वालमा सार्वजनिक गरेका थिए। उनी लागुऔषध कारोबारमा अदालतबाट दोषी ठहर व्यक्ति हुन्।
उनलाई २०६१ भदौ २५ गते काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि २०६२ जेठ १० मा जिल्ला अदालतका न्यायाधीश मोहनरमण भट्टराईको इजलासले ६ महिना मात्र कैद सजायको फैसला गरेपछि १० महिना दुई दिन कैद बसेर मुक्त भएका थिए।
जिल्ला अदालतको फैसला चित्तबुझ्दो नदेखिएपछि सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो। जिल्ला अदालतको फैसलामा लामा लागुऔषध प्रयोगकर्ता मात्र रहेको र कारोबारी नभएको उल्लेख थियो। तर, जिल्ला अदालतको उक्त फैसला पुनरावेदन अदालतले उल्ट्याएर सजाय सुनाएको थियो।
उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। त्यो फैसला चित्त नबुझे पूर्ण पाठ सार्वजनिक भएको मितिले ७० दिनभित्र सर्वोच्चमा पुनरावेदन गर्न सकिने व्यवस्था भए पनि लामा पुनरावेदनमा गएनन्।
बरु उक्त फैसलाको २०६४ कात्तिक १२ गते म्याद तामेलीसमेत भएको देखिन्छ। उच्च अदालत पाटनका अनुसार लामाका एकाघरका दाजु केशव लामाले रितपूर्वक म्याद बुझेको कागजातबाट देखिएको छ।
लामा पुनरावेदनमा नगई फरार १७ वर्षदेखि फरार रहेको पुष्टि सर्वोच्चले पनि गरिसकेको छ। उनले चार वर्ष दुई महिना कैद भुक्तानी गर्न बाँकी छ। यति हुँदाहुँदै पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका छन्।
गत माघ २५ गते युवा तथा खेलकुद मन्त्रालयले पनि लामालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको थियो। पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट भएको फैसलाबमोजिम आवश्यक कारबाहीको लागि लेखी पठाइएकोमा कुनै कारबाही नभएको भन्दै मन्त्रालयले राखेपलाई लामामाथि कारबाही गर्नुपर्ने पत्र काटेको थियो।
तर, एन्फाका महासचिव राईले भने यस्तो कुनै आधिकारिक पत्र एन्फालाई हालसम्म प्राप्त नभएको भन्दै उनलाई कारबाही गर्न आनाकानी गरिरहेका छन्। बरु उल्टै उनी र नेम्वाङ लामालाई उच्च ओहदामा रहेका व्यक्तिसँग निरन्तर भेटाइरहेका छन्।
अर्कोतर्फ लामाले पनि पीडितको म्याद तामेलीमा रहेको भन्दै सर्वोच्चमा रिट हालेका छन्। उक्त रिटको सुनाइको पेसी २० पटक सरिसकेको छ। उनको अर्को पेसी भदौ २३ गते तोकिएको छ। तर, उनी निर्दोष भने अझै सावित भइसकेका छैनन्।
त्यसैले लामाले पनि एन्फा छाड्न आनाकानी गरिरहेका छन्। यद्यपि, उनलाई एसियाली फुटबल महासंघ (एएफसी)ले आफ्नो सामाजिक उत्तरदायित्व कमिटीको सदस्यबाट हटाइसकेको छ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)