मिलानको कठिन जित

काठमाडौं। भ्यालेन्टिन कार्बोनीले इन्जुरी टाइममा निर्णायक गोल गर्दै इन्टर मिलानलाई क्लब विश्वकपको आइतबार बिहानको खेलमा उरावा रेड डायमन्ड्सविरुद्ध २–१ को जित दिलाए। योसँगै जापानी क्लबको समूह चरण पार गर्ने सम्भावना समाप्त भएको छ।
इन्टरले खेलको अधिकांश बल नियन्त्रणमा राखे पनि ७८औं मिनेटसम्म गोल गर्न सकेको थिएन। त्यतिबेला लाउटारो मार्टिनेजले निकोला बारेलाको कर्नर बललाई उत्कृष्ट बाइसिकल किकमार्फत जाली चुमाए।
त्यसको १४ मिनेटपछि फ्रान्चेस्को एस्पोसिटोको असिस्टमा कार्बोनीले निर्णायक गोल गरे। इन्टरले खेलभरि २१ वटा बढी प्रहार गरे तापनि उरावाको रक्षा निकै मजबुत थियो।
खेलको ११औं मिनेटमा उरावाले ट्याकरो कानेकोको असिस्टमा र्योमा वतानाबेले गोल गर्दै अग्रता दिलाएका थिए। जापानी समर्थकहरूले सिएटलको लुमेन फील्डमा खेलभरि आफ्नो टोलीको समर्थनमा चर्को नाराबाजी गर्दै माहोल तताएका थिए। २५,०९० दर्शकको उपस्थितिमा मैदानको दक्षिण भाग उनीहरूले रातो रंगले भरिदिएका थिए।
इन्टर मिलान अब समूह ‘ई’ को शीर्ष स्थानमा पुगेको छ। यसअघि मोन्टेरेसँग १–१ को बराबरी खेलेको इन्टरले अब अर्को खेल अर्जेन्टिनी क्लब रिभर प्लेटविरुद्ध बुधबार खेल्नेछ।
उरावाले भने अब बुधबार सीएफ मोन्टेरेविरुद्धको अन्तिम खेल आफ्नो इज्जत जोगाउने प्रयासका रूपमा खेल्नेछ।
















