प्रभावशाली बायर्न

काठमाडौं। जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लब विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको अकल्यान्ड सिटीलाई १०–० ले पराजित गरेको छ।
टिक्यूएल स्टेडियममा २१ हजार १५२ दर्शकमाझ खेल भएको हो। केही समर्थकहरूले ‘स्मास फिफा!’ लेखिएको ब्यानर देखाउँदै खराब व्यवस्थापनविरुद्ध आक्रोश व्यक्त गरेका थिए।
‘आजको खेल सबैका लागि उत्कृष्ट रह्यो। हामीले आक्रामक र द्रुत खेल देखायौं,’ बायर्नका मुख्यप्रशिक्षक भिन्सेन्ट कोम्पानीले भने।
बायर्नका जमाल मुसियालाले दोस्रो हाफको १७ मिनेटको अन्तरालमा ह्याट्रिक गरे। उनले ६७औं, ७३औं (पेनाल्टी) र ८४औं मिनेटमा गोल गरेका थिए।
मुसियाला ६१औं मिनेटमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका थिए। उनी ४ अप्रिलयता पहिलो पटक खेलेका हुन्। उनले घुँडाको चोट बोकेका थिए।
थोमस मुलर, किङ्स्ले कोमन र माइकल ओलिसेले समान दुई गोल गरे। खेलको छैटौं मिनेटमा कोमनले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। बायर्नले खेलभर १७–१ को शट्स अन टार्गेटको स्पष्ट अग्रता लिएको थियो।
बायर्नले पहिलो हाफको मध्यसम्ममै ४–० को अग्रता बनाइसकेको थियो। साचा बोएले १८औं, ओलिसेले २०औं, कोमनले २१औं, मुलरले ४५औं मिनेट र ओलिसेले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै अग्रता ६–० बनाए।
‘विश्वकै उत्कृष्ट टिमविरुद्ध खेल्नु आफैंमा ठूलो चुनौती हो। गोल हुँदै गएपछि अझ गाह्रो हुँदै गयो, तर हामीले कम गोल खाने प्रयास गर्यौं,’ अकल्यान्डका फरवर्ड अंगस किलकोलीले भने।
जोनाथन टाहले बायर्नको सुरुआती प्लेइङ ११ बाट डेब्यू गरे भने डेयो उपामेकानो मार्च २३ पछि पहिलोपटक मैदानमा फर्किए।
प्रभावशाली देखिएको बायर्नको अर्को खेल शुक्रबार बोका जुनियर्ससँग र जुन २४ मा बेनफिकासँग हुनेछ। अकल्यान्ड सिटीले अब बेनफिकासँग शुक्रबार र बोका जुनियर्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ।
















