काठमाडौं। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह आइतबार आफ्नो इन्डियन प्रिमियर लिग (आइपिएल) टिम मुम्बई इन्डियन्समा समावेश भएका छन्।
उनी सोमबार घरेलु मैदान वानखेडेमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध हुने खेलमा उपलब्ध हुने टिमले पुष्टि गरेको छ।
सन् २०२४ का इन्टरनेसनल क्रिकेटर अफ द इयर घोषित भएका बुमराह पछिल्लो समय कमरको चोटका कारण मैदानबाट टाढा थिए। उनले जनवरीमा अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्टको अन्तिम दिन गुमाएका थिए।
पाँच पटकको च्याम्पियन मुम्बईका ग्लोबल प्रमुख तथा पूर्वकप्तान महेला जयवर्धनेले प्रेस कन्फरेन्समा भने,‘उनी प्रशिक्षण गर्दैछन् र आरसीबीविरुद्धको खेल खेल्नेछन्। उनले एनसिए (सेन्टर अफ एक्सिलेन्स) मा अन्तिम परीक्षण गरिसकेका छन्। अहिले उनी हाम्रो फिजियो टोलीसँग छन् र सबै ठिक छ।’
३१ वर्षे बुमराह मुम्बईका लागि अत्यन्तै महत्त्वपूर्ण खेलाडी मानिन्छन्, विशेष गरी टिमले यस सिजन चारमध्ये तीन खेल हारिसकेपछि। उनको उपस्थितिले टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।