काठमाडौं। घरेलु टोली नेपालमाथि रोमाञ्चक जित निकाल्दै अफगानिस्तान यु–१९ टोलीले एक खेलअगाबै एकदिवसीय शृंखला जितेको छ।
आइतबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएको हो। योसँगै नेपालले शृंखला २–० ले गुमाएको छ। अब नेपालले पाहुना टोलीसँग बुधबार अन्तिम खेल खेल्नेछ।
पहिलो खेलमा नेपालले १३० रनको फराकिलो हार बेहोरेको थियो। आइतबार अफगानिस्तानले नेपालसामु १७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, नेपालले ४९.९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको हो।
नेपाललाई अन्तिम तीन बलमा दुई रन चाहिएको थियो। मोहबुब खानले आफ्नो ओभरको तेस्रो बल नो फ्याँकेका थिए। तर, दर्श सुनार रन आउट हुन पुग्दा नेपालले फ्रि हिटसहित शृंखला नै गुमाउन पुग्यो।
नेपालका साहिल पटेलले सर्वाधिक ६४ रनको योगदान दिए। ११९ बल खेलेका उनले ६ चौका प्रहार गरे। दर्श २१, अभिषेक तिवारी २०, नीरजकुमार यादव १५ र कप्तान नरेन भट्ट १३ रनमा आउट भए।
अफगानिस्तानका वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले समान दुई विकेट लिए।
त्यसअघि माथिल्लो मुलपानी किकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो।
अफगानिस्तानकाकप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। ११४ बल खेलेका उनले एक चौका प्रहार गरे। रोहुल्लाह अरब २७, उजाइरुल्लाह नियाजाई १९, नजिफुल्लाह अमिरी १६, खतिर स्तानिकजाई ११ र खालिद अहमदजाई १० रनमा पभिलियन फर्किए।
नेपालका सन्तोष यादवले सर्वाधिक तीन विकेट लिए।