पोखरा। हेटौडाले केपी ओली कप राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगितामा पोखरा महानगर क्रिकेट क्लबलाई सहजै पराजित गरेको छ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा चार विकेटले विजयी भएको हो। घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो हार हो। समूह ‘ए’ मा रहेको पोखरा पहिलो खेलमा स्याङ्जासँग पराजित भएको थियो। हेटौडा दुई अंक जोड्न सफल भएको छ।
पोखराले दिएको ७२ रनको लक्ष्य पछ्याएको हेटौडाले १२ ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भयो। हेटौडाको जितमा ओपनर गौरभ खड्काले सर्वाधिक ३४ रन बनाए।
३२ बल खेलेका उनले चार चौका प्रहार गरे। राम नरेश गिरी १४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। पोखराका अञ्जन केसीले सर्वाधिक दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा महानगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो। पोखराका सुमीत श्रेष्ठले सर्वाधिक २६ रन बनाए।
प्रमोद बास्तोला २२ र दीपक बराल १४ रनमा आउट भए। पोखरालाई सस्तैमा समेट्न असीम श्रेष्ठ र अखिेलश ठाकुरले समान तीन विकेट हात पारे।