काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्न्यास लिन लागेको हल्ला फेरि एकपटक फैलिएको छ।
यसैबीच चेन्नईका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनीको भविष्यलाई लिएर भइरहेको अड्कलबाजीप्रति प्रतिक्रिया दिएका छन्। फ्लेमिङले धोनी अझै पनि उत्कृष्ट फर्ममा रहेको र उनको सन्न्यासबारेमा कुनै ठोस जानकारी नभएको स्पष्ट पारेका छन्।
‘मलाई थाहा छैन। म उनीसँग काम गर्न रमाइलो मानिरहेको छु,’ फ्लेमिङले भने, ‘उनी अझै पनि बलियो छन् र म उनलाई भविष्यको बारेमा प्रश्न पनि गर्दिनँ।’ फ्लेमिङको यो स्पष्टीकरणले धोनीका समर्थकलाई राहत दिन सक्छ, जो लामो समयदेखि उनको सन्न्यासको खबरबाट चिन्तित थिए।
४३ वर्षका धोनीले पछिल्ला केही वर्षमा आफ्नो प्रदर्शनबाट सबैलाई प्रभावित पारेका छन्। तर, उनको उमेर र शारीरिक अवस्थाबारे भने प्रश्न बेलाबेलामा उठ्ने गरेको छ।
केही समयअघि फ्लेमिङले पनि धोनीको शरिर र घुँडा अब पहिलाको जस्तो नभएको बताएका थिए। त्यसैले धोनीलाई लामो समयसम्म ब्याटिङ गर्न गाह्रो हुने गरेको उनको भनाइ थियो। तर, यसका बावजुद धोनीले आफ्नो फिटनेस र खेलप्रतिको लगावले सबैलाई चकित पारेका छन्।
टोलीमा धोनीको उपस्थिति अझै पनि युवा खेलाडीका लागि प्रेरणाको स्रोत हो। उनी मैदानमा होस् वा बाहिर, उनको उपस्थितिले टोलीको मनोबल बढाउने गरेको कप्तान ऋतुराज गाडकवाड बताउँछन्। ‘उहाँले आफ्नो शक्तिलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहुन्छ,’ उनी भन्छन्।
धोनीले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। तर, उनी आइपिएलमा चेन्नईका लागि खेलिरहेका छन्। पछिल्ला केही सिजनमा उनको प्रदर्शनलाई हेर्दा समर्थकले कम्तिमा अर्को सिजन खेल्ने आशा गरेका छन्। फ्लेमिङको स्पष्टीकरणले पनि धोनीको सन्न्यासको निर्णय अझै अनिश्चित रहेको स्पष्ट पारेको छ।
चेन्नईले हाल आइपिएल २०२५ मा मिश्रित प्रदर्शन गरिरहेको छ। आइतबार भएको खेलमा दिल्ली क्यापिटल्ससँग २५ रनले पराजित भएको थियो।