काठमाडौं। अपराजित पञ्जाब किङ्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले १७२ रनको मध्यम लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको हो। लखनउका निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए। ३० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
आयुष बडानीले ३३ बलमा एक चौका र तीन छक्कासहित ४१ रन बनाए। एडन माक्रराम २८, अब्दुल समाद २७ र डेभिड मिलर १९ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलको नाममा समान एक विकेट रह्यो।