काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको सानदार लयमा लखनउ सुपर जायन्ट्सले ‘ब्रेक’ लगाएको छ।
बिहीबार सम्पन्न खेलमा लखनउले हैदरावादलाई पाँच विकेटले पराजित गरेको हो। यो नतिजासँगै लखनउले दुई अंक जोडेको छ। पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले पराजित भएको थियो।
हैदरावादको भने यो पहिलो हार हो। पहिलो खेलमा राजस्थान रोयल्सलाई हैदरावादले ४४ रनले पराजित गरेको थियो। उक्त खेलमा हैदरावादले २८७ रनको कीर्तिमानी लक्ष्य दिएको थियो।
यसपल्ट भने हैदरावादको आक्रामक ब्याटिङ लाइनअप चलेन। त्यसैले हैदरावादले १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याएको लखनउनले १६.१ ओभरमा पाँच विकेट गुमाउँदै १९३ रन बनायो।
लखनउको जितमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए। २६ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे।
ओपनर मिचेल मार्शले ३१ बलमा सात चौका र दुई छक्कासहित ५२ रन बनाए। कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा डेभिड मिलर १३ र अब्दुल समाद २२ रनमा अविजित रहे।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। मोहम्मद शामी, एडम जाम्पा र हर्षल पटेलको नाममा समान एक विकेट रह्यो।
त्यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १९० रनको योगफल तयार गरेको थियो।
हैदरावादका ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।
अंकत बर्माले १३ बलमा पाँच छक्कासहित ३६ रन बनाए। नितिशकुमार रेड्डी ३२ र हेनरिक क्लासन २६ र प्याट कमिन्स १८ रनमा आउट हुँदा हर्षल पटेल १२ रनमा अविजित रहे। अन्यको ब्याट चल्न सकेन।
लखनउका सर्दूल ठाकुरले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए।