काठमाडौं। विभागीय टोलीका दुई बलरले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा १०० विकेटको कोशेढुंगा पूरा गरेका छन्।
सन् २०१७ देखि यस प्रतियोगिताको सुरुआत गरिएको थियो। त्यसको सात संस्करणमा पुगेर मात्रै दुई विभागीय टोलीका दुई खेलाडीले १०० विकेट पूरा गरेका हुन्।
सुरुमा नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले यो कोशेढुंगा पार गरेका हुन्। पहिलो संस्करणदेखि नै खेल्दै आएका उनले ४१ इनिङ्समा एक हजार ९०४ बल फ्याँक्दै १०७ विकेट लिएका छन्। उनले यसक्रममा ३१७.२ ओभर बलिङ गरेका छन्।
उनको उत्कृष्ट प्रदर्शन जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध थियो। उक्त खेलमा उनले १५ रन खर्चिएर ६ विकेट लिएका थिए।
यस्तै, अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्पिनयर शहाब आलमले पनि १०० विकेटको कोशेढुंगा बिहीबार पूरा गरेका छन्। उनले विभागीय डर्बीमा पुलिस क्लबविरुद्ध ३१ रन खर्चिँदै चार विकेट लिएका हुन्।
आलमले १०३ विकेट लिन ४७ इनिङ्स खेल्नुपरेको थियो। यसक्रममा उनले ३६२.५ अर्थात दुई हजार १७७ बल फ्याँकेका हुन्। उनले एक हजार ३६१ र ललितले एक हजार ४७ रन खर्चिएका छन्। ललित शीर्ष विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।
यी दुईभन्दा पछि सुदूरपश्चिमका शेर मल्ल छन्। उनले हालसम्म ६९ विकेट लिएका छन्। पुलिसका दीपेन्द्रसिंह ऐरी, एपिएफका भुवन कार्की र गण्डकीका विपन खत्रीको नाममा समान ६७ विकेट छ।