काठमाडौं। १४० करोड जनसंख्या भएको भारत अझै पनि फुटबलमा किन पछाडि छ? यो एउटा सदाबहार प्रश्न हो। के सुनील क्षेत्रीको पुनरागमनले यो तथ्यलाई केही हदसम्म परिवर्तन गर्न सक्छ?
जुन ६, २०२४ मा भारतीय फुटबल टोलीका कप्तान सुनील ११ नम्बरको नीलो जर्सी लगाएर कुवेतविरुद्ध मैदान उत्रिएका थिए। कोलकातामा भइरहेको यो खेल २०२६ को विश्वकपको छनोट थियो।
भारतले कुवेतविरुद्धको पहिलो ‘अवे खेल’ १–० ले जितेको थियो। भारतका स्टार स्ट्राइकर सुनीलले घरेलु दर्शकलसामू त्योभन्दा उत्कृष्ट नतिजा दिलाउन आफ्नो सक्दो प्रयास गरे। तर, खेल गोलरहित बराबरीमा सकियो। दुई खेलपछि गोल अन्तरको आधारमा भारत १–० ले विजयी रह्यो।
खेलपछि पसिनाले भिजेका सुनीलले कोलकाता रंगशालामा उपस्थित ५९ हजार दर्शकलाई सम्मान गर्दै आफ्नो टाउको निहुराए र केही दिनपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रिय खेलबाट बिदाइ लिएको घोषणा गरे।
उनले सन्न्यासको घोषणा गर्दै भनेका थिए, ‘मेरो भित्री आवाजले मलाई कुवेतविरुद्धको खेल अन्तिम अन्तर्राष्ट्रिय हुनुपर्छ भनेर भनिरहेको थियो।’
यसपछि भारतले अफगानिस्तान र कतारसँग हार बेहोर्नुपर्यो। अनि यसरी सन् १९५० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सपना केवल एक सुस्केरा मात्र रह्यो।
लगभग एक वर्षपछि खेल प्रेमी र फुटबल जगतलाई चकित पार्दै सुनील राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछन्, त्यो पनि ४० वर्षको उमेरमा। यो पुनरागमनमा स्पेनी पूर्वफुटबलर तथा भारतीय टोलीका प्रशिक्षक मानोलो मार्केजको भूमिका महत्त्वपूर्ण छ।
बिहीबार उनको पुनरागमनको घोषणा गर्दै मार्केजले भने, ‘भारतका सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी मार्चमा नै अन्तर्राष्ट्रिय विन्डोको लागि फर्कनेछन्।’
भारतीय फुटबल संघको तर्फबाट जारी विज्ञप्तिमा मार्केजले एसियाली कपको लागि छनोट टोलीका लागि धेरै महत्त्वपूर्ण रहेको बताएका छन्। प्रतियोगिता र आगामी खेलको महत्त्वलाई ध्यानमा राख्दै आफूले सुनीलसँग राष्ट्रिय टोलीलाई बलियो बनाउनको लागि फर्कने बारेमा कुरा गरेको बताएका छन्।
‘उनी सहमत भए र त्यसैले हामीले उनलाई टोलीमा समावेश गर्यौं,’ उनले भने।
भारतले एसिया कप छनोट खेलमा मार्च २५ मा बंगलादेशको सामना गर्नेछ। तर, त्यसअघि टोलीले मार्च १९ मा माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ।
फुटबलमा किन असफल भारत ?
१४० करोड जनसंख्या भएको भारतमा क्रिकेटप्रति ठूलो लगाव छ। कहिलेकाहीँ हक्की टोलीले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गर्दिन्छ। योसँगै माहौल हक्कीले तातिन्छ। तर, फुटबलको सन्दर्भमा यस्तो केही हुँदैन।
अन्तर्राष्ट्रिय फुटबल संघका पूर्वप्रमुख सेप ब्लाटरले एक पटक भारतलाई ‘फुटबल निद्रामा परेको विशाल राष्ट्र’ भनेर वर्णन गरेका थिए। भारतमा फुटबल दर्शकको संख्या ठूलो छ।
यी दर्शकले युरोपेली लिग र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू पनि पछ्याउँछन्। देशका धेरै भागहरूमा फुटबल पनि खेलिन्छ। तर, यसको बाबजुद पनि भारतमा फुटबलले क्रिकेट झैं छलाङ मारिहाल्छ भनेर आशा गर्ने ठाउँ अझैसम्म निर्माण भएको छैन।
यसको एउटा प्रमुख कारण भारतीय फुटबल टोलीको खराब प्रदर्शन हो। सन् १९६० को दशकसम्म भारतलाई एसियाको महान् टोलीहरूमध्ये एकमा गनिन्थ्यो। भारतले सन् १९५१ र १९६२ को एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो।
टोली सन् १९५६ को ओलम्पिकमा चौथो स्थानमा रह्यो। तर, त्यसपछि भारतीय फुटबल निरन्तर ओरालो लाग्दै गयो। भारतीय क्लब फुटबलमा चर्को राजनीतिक प्रभाव छ। टोलीले प्रतिभाशाली खेलाडीलाई बिरलै मौका दिने गरेका छन्।
यो कुरा धेरै उदाहरणहरूद्वारा प्रमाणित गर्न सकिन्छ। भारतीय राष्ट्रिय फुटबल टोलीको अवस्था पनि त्यस्तै छ। फुटबल राजनीतिज्ञको पकडमा छ। यसको उदाहरण सन् २०२२ मा भएको फुटबल महासंघको चुनावबाट पनि बुझ्न सकिन्छ। संघको ८५ वर्षे इतिहासमा कल्याण चौबे खेलाडी रहेर अध्यक्ष बन्ने पहिलो व्यक्ति बने।
त्यतिन्जेलसम्म कहिल्यै फुटबल नखेलेकाले भारतमा यो खेललाई विकास गर्ने मुद्दा बोकेर हिँडेका थिए। उदाहरणका लागि महाराष्ट्रका दिग्गज नेता प्रफुल्ल पटेल।
सन् २०२० मा आफ्नो तेस्रो कार्यकाल पूरा भए पनि एनसिपी (अजित पवार गुट) का अनुभवी नेता पटेलले अध्यक्ष पद त्याग्न अस्वीकार गरे। पछि अदालतको हस्तक्षेप र फिफाको निलम्बन पछि पटेलले पदबाट राजीनामा दिन परेको थियो।
भारतीय फुटबल टोलीलाई १९९० को दशकको भारतीय क्रिकेट टोलीसँग तुलना गर्न सकिन्छ। त्यति बेला टोलीमा खेलाडी छनोट गर्दिन राजनीतिज्ञ र पहुँचवालाको सिफारिसहरू आएको रिपोर्ट समाचार माध्यममा छ्यापछ्याप्ती थियो। तर, सन् १९९६ पछि भारतीय क्रिकेट प्रशासनमा धेरै परिवर्तन आए र संरचनामा निष्पक्षता तथा व्यावसायिक मानसिकता देखा पर्न थाल्यो।
परिणामस्वरूप साना सहर र नयाँ क्षेत्रका खेलाडीहरू टोलीमा पर्न थाले र प्रतिभाहरूले उचित अवसर पाउन थाले। त्यस बेलादेखि भारतीय क्रिकेटको छवि पनि परिवर्तन हुन थाल्यो र प्रवर्द्धनको बाँकी काम बजारले गर्यो।