काठमाडौं। आगामी चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबलको तेस्रो संस्करणमा सहभागी हुने सात टोलीको मार्की खेलाडी टुंगो लागेको छ।
शनिबार मिनि अक्सन हुँदैछ। सो अक्सनको एक दिनअगाबै सातै टोलीले मार्की खेलाडीको टुंगो लगाएका हुन्।
यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ।
अघिल्लो सिजनका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने यसपल्ट सहभागिता जनाउने छैनन्। ललितपुरले नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङलाई मार्की बनाएको छ।
अघिल्लो संस्करणमा पनि उनी लिलतपुरकै मार्की थिए। उनको कप्तानीमा ललितपुरले उपाधि जितेको थियो। उनी पहिलो संस्करण पनि ललितपुरमै थिए। ललितपुरले डिफेन्डर सनीश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरिसकेको छ।
नेपाल राष्ट्रिय टोलीकासमेत डिफेन्डर रहेका सनीश श्रेष्ठलाई ‘ए’ क्याटोगोरी र मिडफिल्डर आदित्यलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरिएको हो। मुख्य प्रशिक्षकमा भने साइमन ग्रेसनलाई अनुबन्ध गरिसकेको छ।
यस्तै, चितवनको फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा सम्झौता गरेको छ। अघिल्लो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो। उनले नै चितवनको कप्तानी आर्मब्यान्ड लगाएका थिए।
अञ्जन भने झापा एफसीको मार्की खेलाडी थिए। उनले नै कप्तानी जिम्मेवारी सम्हालेका थिए। अञ्जनको कप्तानीमा रहेको झापाले आठ खेलमा दुई जित र चार बराबरीसहित १० अंक जोड्दै पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो।
यो उसको पहिलो संस्करण थियो। चितवनले नेपाली राष्ट्रिय टोलीका पूर्वअन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।
अञ्जन चितवन लागेसँगै झापाले सेन्ट्रल मिडफिल्डर लाकेन लिम्बूलाई मार्की खेलाडीको जिम्मेवारी सुम्पिएको छ। अघिल्लो संस्करण पनि उनी झापामै थिए।
२२ वर्षीय लाकेन हाल भारतीय आइ लिग क्लब दिल्ली एफसीमा आबद्द छन्। उनीसँग थ्री स्टार, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडसँग खेलेको अनुभव पनि छ।
झापाले यसअघि मिडफिल्डर प्रशान्त लक्षम र सेन्ट्रल ब्याक छिरिङ लामाले रिटन गरिसकेको छ। यस्तै, मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन्।
एनएसएलमा सहभागी अर्को टिम धनगढीले कृतिशरत्न छुन्जुलाई मार्की खेलाडीको रूपमा सम्झौता गरेको छ। २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डर छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए।
दोस्रो सिजन भने धनगढी पुगेका हुन्। धनगढी दुवै संस्करणको उपविजेता टोली हो। पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौंसँग पराजित भएको थियो। अर्को संस्करणमा भने ललितपुरले हराउँदै उपाधि उचाल्यो।
बुटवल लुम्बिनीमा विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएका छन्। बुटवलले भुटानी नागरिक पुष्षलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पोखराको मार्की खेलाडीमा १९ वर्षीय सेन्ट्रल फरवार्ड समीर तामाङ अनुबन्धन भएका छन्। समीरको यो पहिलो व्यवसायिक प्रतियोगिता हो। नेपालले खेलेका विभिन्न उमेर समूहका प्रतियोगितामा उनले प्रतिनिधित्व गरिसकेका छन्।
उनी पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिता खेल्दै आइरहेका छन्। पोखराले अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका आयुष घलानलाई कप्तानी जिम्मेवारी सुम्पिसकेको छ। आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए।
दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी थिए। आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै दुई गोल गरेका थिए। पोखराले यसअघि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ।
पहिलो संस्करणको विजेता काठमाडौंले रोहन कार्कीलाई मार्की खेलाडी बनाइएको छ। २२ वर्षीय मिडफिल्डर रोहन आरसी ३२ का उत्पादन हुन्।
नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डलाई आदर्श मान्ने उनले आफ्नो कप्तानीमा आरसी ३२ लाई ‘बी’ डिभिजनमा उकालेका थिए। उनले गत संस्करण धनगढी एफसीबाट एनएसएल खेलेका थिए।
उनी पछिल्लो समय चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिता खेल्दै आएका छन्। राष्ट्रिय टोलीमा परे पनि उनले डेब्यु भने गर्न पाएका छैनन्। काठमाडौंले यसअघि दीपेश गुरुङ, अभिषेक बराल र कुलदीप कार्कीलाई रिटेन गरिसकेको छ।