काठमाडाै। नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीका खेलाडीको ट्याकलमा परेका थिए। उनको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘बायाँ खुट्टाको नली तीन ठाउँमा भाँचिएको पुष्टि भएको छ। शल्यक्रियाको आवश्यक छ,’ उनले खेलपाटीसँग भने।
३७औं मिनेटमा युनानका मोरी मेडेले उनीमाथि ट्याकल गरेका हुन्। उक्त ट्याकलपछि उनी मैदानमै छटपटाएका थिए।
उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमा मैदान बाहिर निकालिएको थियो।
लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बि एन्ड बी हस्पिटलमा ‘रिफर’ गरिएको शाहले जनाकारी दिए।
‘स्टार हस्पिटल उपचार सम्भव भएन। त्यसैले बि एन्ड बी लगेका छौं,’ उनले भने। उनका अनुसार आशिषलाई ‘रिकभर’ हुन आठ महिनाभन्दा बढी समय लाग्ने छ। त्यतिन्जेलको उपचार खर्च एन्फाले नै बेहोर्ने छ।
‘राष्ट्रको जर्सीमा खेलेपछि जो कोही खेलाडी घाइते भए पनि जिम्मेवारी हामीले नै लिने हो। त्यसैले निको नभएसम्मको उपचार खर्च एन्फाले नै बेहोर्छ,’ उनले भने ।
नेपालले चिनियाँ नयाँ वर्षको अवसरमा मैत्रीपूर्ण खेल खेलेको हो। उक्त खेलमा नेपाल २–० ले पराजित भयो।