काठमाडौं। नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राई गम्भीर घाइते भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीको खेलाडीको ट्याकलमा परेका थिए। उनको तीन ठाउँमा खुट्टा भाँचिएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘उनको बाँया खुट्टाको नली तीन ठाउँमा भाँचिएको पुष्टि भएको छ। शल्यक्रियाको आवश्यक छ,’ उनले खेलपाटीसँग भने। ३७औं मिनेटमा युनानका मोरी डेलेले उनीमाथि ट्याकल गरेका हुन्। उक्त ट्याकलपछि उनी मैदानमै छटपटाएका थिए।
उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमार्फत मैदान बाहिर ल्याइएकाे थियो। लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको हो। मोरीले पनि घाइते भएका छन्।
आशिष खेल्न नसक्ने भएपछि मुख्य प्रशिक्षक राजेश शाहीले ओमप्रकाश चौधरीलाई मैदान छिराएका थिए। जाँचपछि चिकित्सकले आशिषको खुट्टा भाँचिएको पुष्टि गरेको प्रवक्ता शाहले जानकारी दिए।
‘अहिले हामी स्टार हस्पिटल मै छौं। यहाँ उपचार सम्भव नहोला जस्तो देखिएको छ। भएन भने बि एन्ड बी लैजाने तयारी गरेका छौं,’ उनले भने।
नेपालले चिनियाँ नयाँ वर्षको अवसरमा मैत्रीपूर्ण खेल खेलेको हो। उक्त खेलमा नेपाल २–० ले पराजित भयो।