काठमाडौं। पेरिक ओलम्पिक २०२४ मा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले शनिबार आफ्नो खेल खेल्दैछन्।
यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा नेपाली समय अनुसार राति ७:३० मा सुरु हुनेछ।
प्रिन्स दाहाल
नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सले पेरिस ओलम्पिक २०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनविरुद्ध खेल्ने छन्।
यी दुईसँगै समूह ‘पी’ मा आयरल्यान्डका नियात न्युयेन र इजरायलका मिसा जिल्बरम्यान छन्। १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन्।
१९ वर्षीया प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदैछन्। उनले यो अवसर युनिभर्सालिटी कोटामा पाएका हुन्। जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२ औं स्थानमा छन्। ओलम्पिकमा समूहका तीनै प्रतिस्पर्धी उनीभन्दा माथि छन्।
३० वर्षीय भिक्टर विश्वकै शीर्ष वरीयतामा पुगिसकेका खेलाडी हुन्। उनी अहिले दोस्रो वरीयतामा छन्। टोकियो ओलम्पिक २०२० को फाइनलमा चीनका चेन लोङलाई पराजित गर्दै पुरुष सिंगल्सको स्वर्णपदक जितेका भिक्टर दुईपल्टका विश्व च्याम्पियनसिपका विजेता पनि हुन्। चेनले रियो २०१६ मा स्वर्ण जित्दा भिक्टरले त्यहाँ कांस्यपदक हात पारेका थिए।
इजरायलका जिल्बरम्यान निक्कै अनुभवी खेलाडी हुन्। उनी चौथोपल्ट ओलम्पिकमा सहभागि हुँदैछन्। ३३ वर्षीया उनी वरीयतामा ५९ औं स्थानमा छन्। समूहका अर्का खेलाडी २४ वर्षीया नियात ४३औं स्थानमा छन्।
त्यसैले घरेलु प्रतियोगितामा नियमित सफलता हात पारिरहेका प्रिन्सलाई पेरिस ओलम्पिकमा सजिलो हुने छैन।
स्यान्टु श्रेष्ठ
स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन्। गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए।
उनले पुरुष एकलतर्फ वरीयतामा ८९औं स्थानमा रहेका डिएवसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। स्यान्टु भने वरीयताविहीन छन्। वरीयतामा पछि रहेका खेलाडीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन्। प्रारम्भिक चरणमा तीन खेल हुनेछ। यस चरणका विजेता अन्तिम ६४ मा प्रवेश गर्नेछन्। अन्तिम ६४ का खेल जुलाई २७ देखि अगस्ट ४ सम्म पेरिस एक्पो पोर्ट डे भर्सेल्समा हुनेछ।
स्यान्टु छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ खेल्ने एकमात्र नेपाली खेलाडी हुन्। समग्रमा भने उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेक थिए।
नेपाली टेबल टेनिस इतिहासमा भने ओलम्पिकमा छनोट हुने उनी पहिलो खेलाडी हुन्। ३२ वर्षीय इब्राहिम फ्रान्सको राजधानी पेरिसमै जन्मिएका हुन्। उनले फ्रान्सबाट जुनियरस्तरका प्रतियोगिता खेल्दै सन् २००८ को युरोपियन युथ च्याम्पियन पनि जितेका थिए।
तर, पछि उनी आफ्नो आमाको राष्ट्रबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन माली पुगेका थिए। यद्यपि, टेबल टेनिस महासंघ नहुँदा उनी सेनेगल पुगेका हुन्। उनको बाबुको जन्म सेनेगलमा भएको थियो। पछिल्लोपल्ट उनी सेनेगलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। गत मार्चमा घानामा आयोजना भएको १३औं अफ्रिकी खेलकुद प्रतियोगितामा उनले पुरुष एकलतर्फ रजत जितेका थिए।
उनले यसअघि छनोट चरण पार गरेर टोकियो ओलम्पिक २०२० पनि खेलिसकेका छन्। उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो सेनेगली खेलाडीसमेत हुन्।