काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध भएको खेलमा निराशाजनक शुरूआत गरेको थियो।
पहिलो पावर प्ले मै दुवै ओपनर (कुशल भुर्तेल र आशिफ शेख)सहित आक्रामक बलिङ अलराउन्डर मानिँदै आएका सोमपाल कामी ७ बलमा १२ रन बनाएर पेभिलियन फर्किसकेका थिए।
नेपालको विकेट पतन यतिमै रोकिएन। पहिलो पावर प्लेपछि कप्तान रोहितकुमार पौडेल पनि २१ रन बनाएर पेभिलियन फर्किए। कुशल मल्ल र यूएईविरुद्धको सेमिफाइनल खेलमा अर्धशतक बनाएका सन्दीप जोरा पनि अपेक्षाअनुसार चल्न सकेका थिएनन्। स्कोर बोर्डमा नेपालको रन थियो- १३.३ ओभरमा ८७।

यूएईसँग पहिलो सेमिफाइनलमा ६ विकेटको नमिठो पराजय भोगेको नेपालले भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग दोस्रो पटक एशिया कप खेल्ने मौका गुमाइसकेको थियो। तर, त्यही टेस्ट राष्ट्रको ‘ए’ टोलीसँग खेल्ने मौका भने जीवितै थियो। त्यसैले हङकङविरुद्धको खेल नेपालका लागि उत्तिकै महत्त्वपूर्ण थियो, जति यूएईविरुद्धको थियो।
मैदानमा रहेका र टिभी स्क्रिन नियालिरहेका समर्थकहरू आठौँ स्थानमा कृजमा उत्रिएका दीपेन्द्रसिंह ऐरीबाट छिटो र ठूलो इनिङ्सको अपेक्षा गरिरहेका थिए। सायद ‘डकआउट’मा रहेको टोलीको अपेक्षा पनि समर्थकहरूको भन्दा फरक थिएन।
ऐरीसँग यस्तो अपेक्षा राख्नु अस्वाभाविक पनि थिएन। एक दिन मात्रै एसोसिएट राष्ट्रको टी–२० अलराउन्डरतर्फ पहिलो स्थानमा उक्लिएका ऐरीको नाममा ९ बलमै शतक पूरा गर्ने कीर्तिमान थियो र अझै पनि छ।
.jpg)
उनले नै समूह चरणमा कतारविरुद्धको खेलमा कमरान खानलाई ६ बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए। त्यसैले उनीमाथि यतिको भरोसा राख्नु कसरी अस्वाभाविक हुन सक्छ र? ऐरीले पनि त्यो भरोसालाई निराशामा परिणत हुन दिएनन्।
मात्र २९ बल खेलेका उनले ४ चौका र ३ छक्कासहित ४४ रन प्रहार गरे। ती ४४ रन मध्ये २० त उनले अन्तिम ओभरमा मात्रै बनाएका थिए। त्यही आक्रामक इनिङ्सले नेपालले हङकङलाई ८ विकेटको क्षतिमा १४० रनको लक्ष्य दिएको थियो।
ब्याटिङमा राम्रो प्रदर्शन गर्दै समर्थकका मन जितेका ऐरीले बलिङमा पनि कतै चुक गरेनन्। ४ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। १२ रन बनाएर खेलिरहेका एजाज खानलाई ‘कट एन्ड बोल्ड’ गरे। अदित गौरावरा पनि दीपेन्द्रकै बलमा ९ रनमै एलबीडब्यू धरापमा परे।

तर, उनले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि नेपालले हार टार्न सकेन। कृजमा जमेर खेलिरहेका ओपनर अंशुमान रथलाई बेलैमा रोक्न नसक्दा खेलमा हङकङ हाबी भयो। हङकङले १४० रनको लक्ष्य ३ बल बाँकी रहँदा नै ६ विकेट गुमाएर पूरा गर्यो। फेरि एक पटक नेपालले टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमायो।
कप्तान रोहितकुमार पौडेल भन्छन्, ‘करिब डेढ वर्षसम्म हाम्रो बलियो पक्ष नै ब्याटिङ थियो। तर, यो प्रतियोगिताको लिग चरणसम्म पनि ब्याटिङ पक्ष उत्तिकै बलियो देखिएन। दीप्पी दाइ (दीपेन्द्र)बाहेक कसैले राम्रो प्रदर्शन गर्ने सकेनन्।’
चलिरहने दीपेन्द्र
ओमानमा एसीसी प्रिमियर कप खेल्न जानुअघि नेपालले भारतका दुई स्टेट टोली बरोडा र गुजरातसँग अभ्यासस्वरूप नेपालले टी–२० फ्रेन्डशिप कप खेलेको थियो।
समूह चरणको तीन खेलमा रोहितले कप्तानी सम्हाल्दा नेपाल सन्तोषजनक प्रदर्शन गर्दै एक खेलअगावै फाइनलमा पुगिसकेको थियो। त्यसैले समूह चरणको अन्तिम खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनीसहित केही मुख्य खेलाडीलाई आराम दिँदै दीपेन्द्रलाई बरोडाविरुद्धको खेलमा कप्तानी जिम्मेवारी सुम्पिए।

उक्त खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन र ३७ रनको पराजय बेहोर्यो। प्रतियोगिताभर ब्याटिङमा दीपेन्द्र जम्न सकेनन्। हुन् त त्यसअघिका खेलमा पनि दीपेन्द्रको प्रदर्शन उति राम्रो थिएन। फाइनल खेलमा रोहित कप्तानीमा फर्किँदा पनि दीपेन्द्रले ७ रनभन्दा बढी बनाउन सकेनन्।
उनको यो खराब लय प्रिमियर कपको मलेसियाविरुद्धको खेलसम्म यथावत् नै रह्यो। उनले समूह चरणको पहिलो खेलमा ११ बलमा २ चौका र १ छक्कासहित २० रन मात्रै बनाउन सके।
तर, सोही खेलमा मलेसियाले गुमाएको ३ मध्ये २ विकेट दीपेन्द्रले नै लिए। कतारविरुद्धको खेलमा भने उनले ब्याटिङमा पनि पुनरागमन गरे। पाँचौँ नम्बरमा आएका उनले ३१ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रनको आक्रामक इनिङ्स खेले।

१३.५ ओभरमा १२० मा ३ विकेट गुमाइसकेको नेपालको इनिङ्स उकास्न उनले विवेककुमार यादवसँग २५ र सोमपाल कामीसँग अविजित रहँदै ६ बलमा ३६ रनको साझेदारी गरे। बलिङमा पनि २ विकेट लिएका उनले नेपाललाई ३२ रनको जित दिलाए।
हङकङविरुद्धको खेलमा ब्याटिङ गर्न नपाएका उनले ५ बलमा ६ रन खर्चिँदै २ विकेट लिएका थिए। तर, त्यसपछि भएका साउदी अरबविरुद्धको समूह चरणको अन्तिम खेल र यूएईविरुद्धको सेमिफाइनलमा भने दीपेन्द्र बलिङ र ब्याटिङ दुवैमा ‘फ्लप’ भएका थिए।
हुन त दीपेन्द्र सधैँ चलिरहनुपर्छ भन्ने पनि छैन। उनी सधैँ चलिरहेका पनि छैनन्। तर, उनले आफ्नो तर्फबाट जतिसक्दो दिएकै छन्। यही प्रतियोगितालाई हेर्ने हो भने उनी नेपालका नम्बर वान खेलाडी हुन् भन्दा फरक नपर्ला। उनले यो प्रतियोगितामा तीनवटै ‘डिपार्ट’मा उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
सर्वाधिक रन बनाउने सूचीमा उनी नवौँ स्थानमा छन्। ५ इनिङ्स खेलमा उनले १९२.३० को स्ट्राइक रेटमा एक अर्धशतकसहित १५० रन बनाएका छन्। नेपालका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी उनी नै हुन्।

बलिङमा पनि उनले ८ विकेट लिएका छन्। १५.५ ओभर बलिङ गरेका उनले ११.७५ को औसत र ५.९३ को इकोनोमीमा ८४ रन खर्चिएका छन्। बलिङतर्फबाट पनि नेपालबाट सबैभन्दा बढी विकेट लिने खेलाडी उनी नै हुन्। उनीपछि अविनाश बोहराले ७ र ललितनारायण राजवंशीले ६ विकेट लिएका छन्। फिल्डिङमा पनि दीपेन्द्रले कुशल भुर्तेलले झैँ ३ महत्त्वपूर्ण क्याच समाएका छन्।
नेपाली टोलीका तीव्रगतिका बलर सोमपाल कामी दीपेन्द्रको प्रदर्शनबाट खुसी देखिन्छन्। तर, एक दुई जनाले राम्रो प्रदर्शन गर्दैमा टोलीले खेल नजित्नेमा उनी सहमत देखिन्छन्।
उनले भनेजस्तै समूहमा खेलिने खेल भएको कारण ११ जनाले नै राम्रो प्रदर्शन गर्दिएको भए माहोल योभन्दा फरक हुनसक्थ्यो। भारत र पाकिस्तानसँग दोस्रो पटक खेल्न पाउने ढोका पनि खुल्न सक्थ्यो। तर, यो सपना अहिले यही तुहिसकेको छ।
त्यसैले अब नेपाली टोलीको ध्यान जिम्बाबे र वेस्ट इन्डिजमा हुने विश्वकपमा छ। यो प्रतियोगितामा भने नेपाल प्रिमियर कपमा जस्तो निराश भएर घर फर्किन चाहदैन र फर्कन पनि हुँदैन। त्यसैले आफू र दीपेन्द्रजस्ता सिनिअर खेलाडीले जिम्मेवारी लिएर टोलीलाई माथिल्लो स्तरमा पुर्याउन योजना बनाउनुपर्ने सोमपालको भनाइ छ।
उनी भन्छन्, ‘एक दुई जनाले राम्रो प्रदर्शन गरेर टोलीले जित्दैन। ११ जनाले नै राम्रो प्रदर्शन गर्नुपर्छ। अब विश्वकपमा म, रोहित, कुशल र आशिफजस्ता सिनिअर टोलीले जिम्मेवारी लिएर टिमलाई कसरी माथि लानुपर्छ भनेर सोच्नुपर्छ।’