काठमाडौँ। सुदूरपश्चिमकी देवकीकुमारी धामी १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भएकी छन्।
देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बूढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन्।
लुम्बिनीकी गुञ्जा यादव दोश्रो तथा कर्णाली प्रदेशकी कल्पना बूढा तेस्रो बनिन्। उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते। उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए। बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे।
छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा रानासम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते।
उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे। यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो।
लुम्बिनी दोस्रो तथा सुदूरपश्चिम तेस्रो स्थानमा रहे। सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेस्रो बने। तीन दिने एथलेटिक्स प्रतियोगितामा योसहित ५ जुनियर राष्ट्रिय कीर्तिमान बने।
पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए। दोस्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन्।