काठमाडौँ। गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन्।
बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन्। दुवैको यो व्यक्तिगत दोस्रो स्वर्ण हो। पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे। सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट दोस्रो तथा कर्णाली प्रदेशका प्रकाश बूढा तेस्रो भए।
सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। कर्णालीकै भावना कर्साल दोस्रो तथा लुम्बिनी प्रदेशकी अनिशा थारु तेस्रो भए।