हिँड्यो झोला बोकेर
दिल के ले बिगार्यो?
दिल के ले बिगार्यो?
पाँच दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट उड्नुअघि भलिबलका उदीयमान स्पाइकर रवि केसीको अनुहारमा खुसी थिएन। हातमा ब्याक, गलामा माल र आँखामा आँसु लिएर जापान उड्दै गरेका रवी भनिरहेका थिए,‘खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेँ।’
बागलुङको गलकोट नगरपालिका ७ मल्मका रवि कुनै औपचारिक प्रशिक्षणबिनै भलिबलमा उदाएका प्रतिभा हुन्। १४–१५ वर्षको उमेरदेखि गाउँका कुनाकन्दरामा भलिबल खेल्दै, सिक्दै अगाडि बढेका रविले तीन वर्षअघि एनभीए भलिबल च्याम्पियनसिपमार्फत् राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका हुन्। यो अन्तरालमा उनले राष्ट्रिय जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए।
दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा भएको बंगबन्धु एशियन यू-२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका खेल्न पाउनुलाई उनको करिअरकै सम्झनलायक क्षण हो। त्यो उनले देशका लागि खेलेको एक मात्र प्रतियोगिता हो।
‘राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुन सकेन, क्लोज क्याम्पमा परेर पनि छनोटमा परिनँ,’ उनले भने। गण्डकी प्रदेश टोलीबाट खेल्दै आएका उनी गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ एनभीए भलिबल च्याम्पियनसिपका तीन स्पर्धामा उत्कृष्ट खेलाडी घोषितसमेत भएका थिए।
रविले टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबल खेल त्याग्न विवश भएका छन्। देशभित्रका सयौँ प्रतियोगिता खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन्। राष्ट्रिय टोलीबाट भलिबल खेल्ने सपना पूरा नभएपछि भविष्य सोचेर नयाँ बाटो तय गरेको उनले सुनाए।
‘प्रतियोगिता पनि खेलिरहेको थिएँ, राम्रै भइरहेको थियो। राष्ट्रिय टोलीबाट खेल्न पाएको भए अझै केही वर्षसम्म भलिबल खेलिन्थ्यो होला, त्यो अवस्था नभएपछि भविष्य सोचेर विदेश जाने निर्णय लिएँ,’ उनले भने। गत वर्ष भलिबलको क्लोज क्याम्पमा परेका थिए। तर, उनी राष्ट्रिय टोलीमा छनोट हुन सकेका थिएनन्।
यद्यपि, नेपाल भलिबल संघले केही महिनामा राष्ट्रिय टोलीको छनोट गर्दै छ। राष्ट्रिय टोलीमा पर्न सके पुनः भलिबलमा फर्कने सोच बनाएको उनी बताउँछन्।