काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो ।
इस्ट लण्डनमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कप्तान देव खनालले ५८ रनको अर्धशतकीय पारी खेले । ८९ बल खेलेका उनले ७ चौका प्रहार गरे ।
दिपक बोहराले २७ रन बनाउँदा आकाश त्रिपाठी १६ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आफगानिस्तानका लागि फ्रिदोन दावदजाईले तीन विकेट लिए । त्यस्तै खलिल अहमद र नसिर खानले दुई–दुई विकेट लिए । अफगानिस्तानका लागि गजनफर र अर्ब गुलले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानल ४० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४५ बनाएको थियो ।
आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाए । त्यस्तै नशिर खानले ३१ रन जोड्दा फ्रिदोनले २९ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन खर्चे । त्यस्तै दिपेश कडेलले दुई विकेट लिँदा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक–एक विकेट लिए ।
यो जितसँगै नेपाल विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।