निजगढ । मधेस प्रदेश स्तरिय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शनिबार धनुषा र सिरहा बिजयी भएका छन् ।
कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा धनुषाले रौतहटलाई ५ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको रौतहटले ३७ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाउन सक्यो । रौतहटका डब्लु मलिकले अर्धशतक बनाए । डब्लुले ८७ बलमा ५९ रन बनाए ।
धनुषालाई सामान्य योगफलमै रोक्न बिक्रान्त कुमार यादवले २५ रन मात्र खर्चिएर ४ विकेट हात पारे ।
१ सय ८० रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको धनुषाले ३४ दशमलव २ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । धनुषाका विशाल सुस्लिङले अर्धशतक बनाए । बिशालले ६६ बलमा ५१ रन बनाए ।
रौतहटका अलराउन्डर डब्लु मलिकले १५ रन खर्चिएर २ विकेट लिए । धनुषाको जितमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका बिक्रान्त कुमार यादव खेलको प्लेयर अफ द म्याच बने ।
अर्को खेलमा सिरहाले सर्लाहीलाई ६० रनले पराजित गरेको छ ।
खराब मौसमका कारण ३५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।
सिरहाका प्रदिप पासवानले ६३ बलमा ४५ रन बनाए ।
सर्लाहीका अभय यादवले २० रन खर्चिएर ३ विकेट लिए ।
१ सय ६३ रनको बिजयी लक्ष्य पछ्याएको सर्लाहीले २७ दशमलव ५ ओभरमै अलआउट हुँदै १ सय २ रन मात्र बनाउन सक्यो। सर्लाहीका विशाल पटेलले २५ बलमा २८ रन बनाए ।
सिरहाका पार्थिभ यादवले २१ रन खर्चिएर ३ विकेट लिए । सिरहाको जितमा सर्वाधिक रन बनाएका प्रदिप पासवान खेलको म्यान अफ द म्याच भए ।
धनुषा र सिराहा तीन खेलमा दुईमा जित निकाल्दै आ आफ्नो समूहको शीर्ष स्थानमा रहेका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार बिरगंजको नारायणी रंगशालामा बारा र सप्तरी तथा कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा पर्सा र महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ ।