काठमाडौं । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालन भइरहेको हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ।
प्रतियोगिताका भारतीय २३ सय ९३ रेटेड शीर्ष खेलाडी सुभयानले भारतकै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटिबाट खेल आरम्भ गरेका थिए। राहुलले छैटौं चाल अन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगे। जसको फाइदा लिदै सुभयानले सोह्र चालभित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे। सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थान बनाएका छन् ।
आठौं चरणको खेलमा उनले बंगलादेशी २१ सय ९३ रेटेड एफ अहमद शेख नासिरसंग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता मार्फत ७ अंक रेटिङ सुधार गरेका अन्तर्राष्ट्रिय आईएमले उपाधि प्राप्त गर्ने लक्ष रहेको बताएका छन् ।
शनिबारनै सम्पन्न दोश्रो बोर्डमा २२ सय १७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९ सय ७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जित दर्ता गर्दै ६ अंकका साथ संयुक्त रुपमा अग्रस्थानमा उभिन सफल बने। आईएम मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सी सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल शुरु गर्दै ४२ औं चालमा चलाखी गर्दै पाउन अप गरे। उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसंग कालो गोटी लिएर खेल्नेछन्।
बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिंह, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५, ५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन्। आठौं चरणको खेलमा नयन हकले अबु शेखसंग, अमरदीपले अर्बिन्दर प्रितसंग, नासिर शेखले सुभयानसंग र सरिफ होसेनले मिनहाजसंग कडा प्रतिस्पर्धा गर्नेछन्।
एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४ दशमलव ५ अंक बनाएर नेपाली खेलाडी मध्यबाट अघि रहन तछाडमछाड गरिरहेका छन्। उनीहरुसंगै पूर्व नेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन्।
यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४ दशमलव ५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन्। नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन्।
आइतबार सम्पन्न हुने एशियन खुल्ला बुद्धिचाल प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख सतासी हजार पाँच सय रहेको छ ।
प्रतियोगितामा शीर्ष १५ खेलाडी, सर्वोकृष्ट महिला, वेष्ट लोकल, वेष्ट भेट्रान, यू १०, यू१२, यू१४, यू१६, यू१८, वेष्ट अनरेटेड र १५ सय, १७ सय, १९ सय मुनिका रेटेड खेलाडी गरि ३८ जना खेलाडीलाई पुरस्कृत गरिने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी गराएका छन्।