एजेन्सी । विश्वकप फुटबलमा आज हुने दोस्रो खेलमा एसियन राष्ट्र दक्षिण कोरिया र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा स्विडेनसँग पराजित दक्षिण कोरिया पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । यता, मेक्सिको लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा साविकको विजेता जर्मनीलाई स्तब्ध बनाएको मेक्सिको आत्मविश्वासका साथ मैदान उत्रने छ ।
दक्षिण कोरिया र मेक्सिकोबीचको खेलमा दुई खेलाडीमा नजर पर्नेछ । दक्षिण कोरियाका सुङ युङ की र मेक्सिकोका हिर्भिङ लोजानो मुख्य खेलाडीको रुपमा रहने छन् ।
प्लेयर्स टु वाच :
सुङ युङ की ( दक्षिण कोरिया )
दक्षिण कोरियाली टिमका महत्वपूर्ण सदस्य हुन्, सुङ युङ की । सुङ युङ इन्ग्लिश क्लब स्वान्सी सिटीबाट युरोपियन लिग खेल्ने गर्छन् । युरोपको लिगमा जम्न सफल उनलाई दक्षिण कोरियाले मेक्सिकोविरुद्ध मुख्य हतियार बनाउने छन् ।
२९ वर्षिय सुङ युङ की मिडफिल्डमा जम्न सके मेक्सिकोबिरुद्ध दक्षिण कोरियालाई सहज हुनेछ । गोल गर्न समेत माहिर उनले यो सिजन प्रिमियर लिगमा २५ खेलबाट दुई गोल गरेका थिए ।
रुस विश्वकप अन्तर्गत स्विडेनविरुद्धको पहिलो खेलमा सुङ युङले पुरा समय खेलेका थिए । मैदानमा पुरा समय छाउन सक्ने सुङ युङ की फरवार्डलाई लामो पास उपलब्ध गराउन माहिर मानिन्छन् ।
हिर्भिङ लोजानो – ( मेक्सिको )
विश्वविजेता जर्मनीलाई पहिलो खेलमा पराजित गर्दाका नायक हुन्, हिर्भिङ लोजानो । उनकै निर्णायक गोलमा जर्मनी मेक्सिकोसंग १ – ० ले स्तब्ध भ्येक्प थियो ।
मेक्सिको एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा उनै लोजानोलाई मुख्य हतियार बनाउने छन् । आक्रमक फुटबल खेल्न रुचाउने २२ बर्षीय यी स्ट्राइकर नेदरल्याण्डको लिगमा फुटबल खेल्ने गर्छन् । अहिले उनलाई भित्राउन युरोपियन लिगका ठुला क्लबहरु लागि परेका छन् ।
पिएसभी इन्डोभेन क्लबबाट खेल्ने लोजानोले यो सिजन २९ खेल खेल्दै १७ गोल गरेका थिए । विश्वकप छनोटमा ८ खेलमा लोजानोले ४ गोल गरेका थिए ।
जर्मनीलाई हराउने क्रममा ६६ मिनेट मात्रै खेल्न पाएका उनले गोल गर्दै आफुलाई प्रमाणित गरिसकेका छन् । पाएको मौकालाई सदुपयोग गर्न माहिर लोजानो लामा सट, साथीको लागि पास उपलब्ध गराउन माहिर मानिन्छ ।