काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र 'बी' डिभिजन क्लबबीचको बैठक सकारात्मक रुपमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एन्फाले 'बी डिभिजन क्लबसँग छलफल गरेको थियो । उक्त बैठकले कुनै निर्णय नगरेपनि सकारात्मक रुपमा सकिएको एन्फाले जनाएको छ ।
शहीद स्मारक ‘बी’ डिभिजन लिग सञ्चालनका लागि बैठक बसेको हो ।
दुवै पक्षका सहभागीले आआफ्नो धारणा राखेको र अर्को हप्ता बैठक बस्ने सहमति भएको एन्फाले जनाएको छ ।
बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दीपक खतिवडा, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशीलगायत 'बी' डिभिजन क्लबका प्रतिनिधिहरुको सहभागिता थियो ।
'बी' लिग तोकिएको समयमा नहुँदा पछिल्लो समय एन्फाको आलोचना भईरहेको छ । यस अघि एन्फाले चैत २९ गतेलाई 'बी' डिभिजन लिगको मिति तोकेको थियो ।
तर, आर्थिक अभावको कारण देखाउँदै एन्फाले आफुलेनै तोकेको मिति लिग सञ्चालन गर्न सकेन । एन्फाले 'बी' लिगको नयाँ मिति घोषणा गरेको छैन ।