पोखरा । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता दिइएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति सहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्राएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कुल सातवटा विधामा अवार्ड प्रदान गरिनेछ ।
यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
उदियमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । किशोर स्याङजाका हुन् भने निरज र सुरज कास्कीका हुन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । मनोनयन सार्वजनिक भएसँगै अवार्डको रौनकता झनै बढेको छ ।
यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।
वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए ।